पिपरीमा भएको स्कारपियो दुर्घटनाका दुई गम्भीर घाइतेको मृत्यु

भालुवाङ, दाङ-देउखुरीकाे पिपरीमा हिजाे भएकाे स्कारपियोको ठक्करबाट घाइते भएका गाउँ अगुवा र बालकको उपचारका क्रममा मृत्यु भएको छ । भालुवाङ-लमही सडक खण्डको राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीचोकमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको बा २० च ५७४४ नम्बरको स्कारपियोले शनिबार बेलुका पाैने ७ बजे बाटो काट्ने क्रममा ठक्कर दिदा पिपरीका करिव ५० वर्षिय गाउँ अगुवा राजकुमार चाैधरी र सोही गाउँका रेमलाल चाैधरीका ८ वर्षका छोरा निसान चाैधरी गम्भीर घाइते भएका थिए ।

घाइते मध्ये गाउँ अगुवा राजकुमार चाैधरीको कोहलपुरमा उपचारका क्रममा गएराती करिब ९ बजे मृत्यु भएको थियो भने आर्का ८ वर्षका बालक निसान चाैधरीको बुटवलमा उपचारकै क्रममा गए राती ३ बजे मृत्यु भएको प्रहरी चाैकी सिसहनियाँले जानकारी दिएको छ ।

अन्य ३ जना घाइतेहरूको बुटवलमा उपचार भइरहेको प्रहरीले बताएको छ । घाइते हुनेहरूमा राप्ती गाउँपालिका ८ पिपरीका ७ वर्षका बालक सृष्टि गुरूङ, २२ वर्षकी आमा गाैरी चाैधरी र २ वर्षकी छोरी लक्ष्मी चाैधरी रहेका छन् । जसमध्ये सृष्टिलाई अवस्था अझै गम्भीर रहेकाे राप्ती गाउँपालिका प्रवक्ता विद्याशरण चाैधरीले जानकारी दिएका छन् ।