सप्तरीका न्यायाधीशलाई पनि कोरोना संक्रमण

सप्तरी, सप्तरीमा एक जना न्यायाधीशमा समेत कोरोना संक्रमण फेला परेको छ । आइतबार एक जना न्यायाधीश, एक जना प्रहरीसहित सात जना नयाँ कोरोना संक्रमण पुटि भएको हो ।

उच्च अदालत जनकपुरधामको राजविराज इजलासमा कार्यरत ५८ वर्षीय न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियाँलाल यादवले जानकारी दिएका छन् ।

यसअघि उच्च सरकारी वकील कार्यालयका प्रमुखमा पनि कोरोना संक्रमणको पुष्टि भएको थियो । ४३ बर्षीय उनमा तीन दिन अगाडि संक्रमित देखिएको थियो । उनी संक्रमित देखिएपछि सरकारी वकील कार्यालयका साथै अदालतका न्यायाधीश र कर्मचारीको पनि स्वाब संकलन गरिएको थियो । अन्यको रिपोर्ट भने आउन बाँकी छ ।

आइतबार राजविराजस्थित वडा प्रहरी कार्यालयका एक जना २३ बर्षीय जवान पनि संक्रमित देखिएका छन् । त्यस्तै तिरहुत गाउँपालिका–२ का ३९ वर्षीय पुरुष, वडा नम्बर ३ का ३८ बर्षीय, वडा नम्बर ४ का २६ वर्षीय, वडा नम्बर ५ का २८ वर्षका २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख यादवले जानकारी दिए । हालसम्म सप्तरीमा कोरोना संक्रमितको संख्या ४३४ पुगेको छ ।