प्रदेश १ मा थप १० जनामा कोरोना पुष्टि

विराटनगर,प्रदेश १ मा शनिबार १० जना कोरोना संक्रमित थपिएका छन्। मोरङमा ५, सुनसरीमा २, झापा, तेह्रथुम र खोटाङमा १–१ जनामा संक्रमण देखिएको छ।

मोरङको विराटनगरका २ महिला १ पुरुष, पथरीशनिश्चरेका २ पुरुष, सुनसरीको इनरुवामा २ पुरुष, झापाको मेचीनगरमा १ महिला, खोटाङको दिक्तेलमा र तेह्रथुममा १–१ पुरुषमा कोरोना रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। प्रदेश १ मा कोरोना संक्रमितको संख्या ८ सय ९१ पुगेको छ।

प्रदेश १ मा शनिबार ४ सय ४१ जनाको पीसीआर परीक्षण गरिएको छ। प्रदेश १ मा हालसम्म ३९ हजार १ सय १२ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा.सुरेश मेहताले बताए।