फुटपरस्त को हो ?

एक समिक्षा

नेपाल कम्युनिस्ट आन्दोलन टुटफुटको तितो इतिहासले छ। टुटफुटले आन्दोलन कमजोर बन्ने भएकोले सबैको लागि फुट्नु अप्रिय हो। तर सिद्धान्तत: सबै उपाय र प्रयासका बाबजुद पनि आन्दोलनले गलत बाटो अख्तियार गर्‍यो, सुधार गर्न संभावना रहेन भने क्रान्तिकारी आन्दोलन रक्षाको लागि फुट्नु आवश्यक पनि हुन जान्छ। त्यसैले टुटफुटलाई सापेक्षमा बुझ्नु जरुरी छ। आज सबैभन्दा दु:खद कुरा नेपालको कम्युनिस्ट आन्दोलन फुटको इतिहासको अवलोकन गर्ने हो भने आवश्यकताले भन्दा अनावश्यक रूपमा टुटफुट भएको इतिहास बोल्छ। सैद्धान्तिक र नीतिगत आवरण भित्र विभिन्न नेतृत्वका व्यक्तिगत महत्वाकांक्षा, व्यक्तिगत इगो या टकराव, स्वार्थ, पद प्रतिष्ठा, निम्नपुँजीवादी चिन्तन, सामन्तवादी शैली या प्रवृत्ति र भिन्नमत अस्वीकार गर्ने प्रवृत्ति आदिका कारण कम्युनिस्ट आन्दोलन टुटफुट र खण्डित हुँदै आएको छ। अर्को कुरा फुटको दोष जति नेतृत्वले बहुमतको आडमा अल्पमत पक्षलाई थोपर्ने गरेको समेत इतिहासमा अंकित छ। तर अल्पमत पक्ष नै फुटको कारण भने होइन। अहिलेसम्म पनि सम्बन्धमा भ्रम छ। त्यसकारणले कम्युनिस्ट आन्दोलनका फुटका प्रवृत्तिबारे यथार्थता के हो ? त्यसको विवेचना इतिहासबाट नै गरिनुपर्छ। कुनकुन नेतृत्वका कस्ताकस्ता स्वार्थ र प्रवृत्तिका कारण कम्युनिस्ट आन्दोलन अनुचित टुटफुट भए। त्यसको वास्तविकता जनता सामु समिक्षा हुनु जरुरी छ।

अहिले हामीले क्रान्तिकारी कम्युनिस्ट पार्टी मान्दै आएको नेकपा (मसाल) भित्र समेत फुटको हल्ला खल्ला खुबै मच्चाइएको छ। यस पार्टीको आठौं महाधिवेशनमा हरेक दस्तावेजमा समानान्तर दुइ भिन्न दस्तावेज प्रस्तुत भए। वास्तवमा २०६३ सालमा सम्पन्न सातौं महाधिवेशन पछि र आठौं महाधिवेशन बीचको करिब एक दशक बढी समयमा पार्टीले अपनाएको गलत कार्यशैली र आगामी क्रान्तिको ठोस कार्यदिशामा आदरणीय पार्टी नेतृत्व कामरेड मोहनविक्रम सिंहबाट क्रान्तिकारी दस्तावेज या नीति कार्यक्रम प्रस्तुत हुन नसक्दा ठोस परिस्थितिको ठोस विश्लेषण सहितको अर्को दस्तावेज प्रस्तुत भयो। केन्द्रिय समितिमा छलफल हुँदा उक्त दस्तावेज अल्पमतमा परेकोले त्यसलाई अल्पमत र कामरेड मोहनविक्रम सिंहले प्रस्तुत गर्नुभएको दस्तावेजलाई बहुमत भनियो। स्मरणीय होस्, जब छलफलको लागि दुबै दस्तावेज तलसम्म ल्याइयो, त्यो बेला मुख्य रूपमा बहुमतको अल्पमत माथि दुइटा आरोप थियो। एउटा नेतृत्व कब्जा गर्ने, अर्को त्यो नसके पार्टी फुटाउने उदेश्य भएको आरोप। यस प्रकारका आरोपको प्रभावले धेरै कामरेडहरु भ्रमित हुनुभयो। तर ती आरोप मिथ्या थिए र हुन्। वास्तविक रूपमा अल्पमत फुट चाहन्न। क्रान्तिकारी नीति चाहन्छ।

पार्टी संसदीय दलदल र सत्ताभोग मानसिकताबाट मुक्त होस् भन्ने चाहन्छ। अब गणतन्त्र स्थापना भयो।यो राम्रो कुरा हो तर यसले जनताका आधारभुत समस्या समाधान गर्दैन, त्यसको लागि आमूल परिवर्तन आवश्यक छ। त्यसको आधार तयार पार्ने ठोस कार्यनीति चाहन्छ। तर बहुमत पक्षले यहीँ संविधानमा लेखिएको समाजवादको प्रशंसा गरेर, सत्तामा गएर, अहिले हुनसक्ने सुधारका कार्यक्रम समाजवादउन्मुख कार्यक्रम हुन् भन्ने प्रकारले नजानिदो रूपमा दक्षिणपन्थी बाटो समाएको छ। यसबारे स-विस्तार चर्चा फेरि गरौंला। अहिले बहुमतले आफ्नो दक्षिणपन्थी कार्यक्रमको ढाकछोप गर्न अल्पमतमाथि फुटपरस्त आरोप लगाएको छ। र स्वयं आफू नै फुटपरस्त गतिविधिमा संलग्न भएकोछ। हिजो दस्तावेज छलफलको बेला कामरेड महामन्त्रीले अल्पमत पक्षमाथि विभिन्न आरोप लगाउनु भएको थियो। पहिलो र दोस्रो फोरममा उहाँले प्रयोग गरेका शब्दावली र महाधिवेशनमा आफ्नो प्रस्ताव पास भइसकेपछि पनि पुर्व अल्पमत माथि गरिएको व्यबहार हेर्दा उहाँ स्वयं फुट चाहनुहुन्छ भन्ने कुरा घाम जत्तिकै छर्लङ्ग छ।

कामरेड महामन्त्री साच्चै भिन्नमत देखि सहन सक्नुहुन्न भन्नेकुरा फोरमको छलफलको बेला उहाँले प्रयोग गरेका विभिन्न सन्दर्भका तर विरोधाभास शब्दावली र कम्युनिस्ट आन्दोलनका विभिन्न कालखण्डमा भए गरेका उहाँको व्यबहारको समिक्षा गरेर प्रमाणित गर्न सकिन्छ। आफ्नो दक्षिणपन्थी प्रस्ताव सहि ठहर्‍याउन र आफ्ना गल्ती कमजोरी ढाकछोप गर्न अल्पमतमाथि प्रयोग भएका केहि शब्दावलीहरु: वामपन्थी संकृणतावादी, प्रतिगामी पंक्तिमा नै उभिन पुग्नु, संविधानका विरुद्ध, दक्षिणपन्थी संशोधनवादी सोचाइ, चुनाव न उपयोग न बहिष्कारको नीति, बस्तुगत भन्दा मनोगत प्रकारको, सैद्धान्तिक अस्पष्टता र असंन्तुलन, क्रान्तिकारी लफ्फाजी, वामपन्थी लफ्फाजी, प्रतिगमनलाई मद्दत पुर्‍याउने, प्रतिगामी पंक्तिमा उभिन पुगेको, राजावादीसँग अघोषित कोअर्डिनेशन तथा कार्यगत एकता कायम, अराजकतावादी, केही हदसम्म भारतपरस्त सोचाइ, भारतको विरोध होइन पक्ष लिएको, भारतीय साम्राज्यवादको पृष्ठपोषण, एक प्रकारको भारतपरस्त नीति, अल्पमतको दृष्टिकोणले भारतीय साम्राज्यवाद विरुद्धको नीति धेरै नै कमजोर भएको, वृद्ध नेताहरुलाई नेतृत्व र जिम्मेवारीबाट हटाउने, नेतृत्वबाट सफाया गर्ने, पदलोलुप तथा महत्वाकांक्षी, चरम प्रकारको गुटबन्दी, प्रमाण र सूचना नभए पनि विप्लव समुहसँग सम्पर्क रहेको संभावना, पार्टी फुटाउन रामसिंहसँग पटकपटक भेट र छलफल भएको “रअ” ले आठौं महाधिवेशनमा बहुमतलाई पराजित गर्न भूमिका खेलेको, आदि हुन्।

उहाँ आफुले आन्तरिक रूपमा जे जे गर्नुहुन्छ त्यो अर्को पक्षमाथि दोष थोपर्ने गर्नुहुन्छ भन्ने थुप्रै अग्रज विश्लेषक पनि हुनुहुन्छ। महाधिवेशनमा आफ्नो प्रस्ताव पारित भइसकेपछि पनि उहाँलाई ढुक्क भएन। उहाँ अल्पमतको विचार पार्टीको सम्पत्तिको रूपमा दर्ज गर्न चाहनुहुन्न। भिन्नमत राख्ने नेता कार्यकर्ताहरु बहिष्कार गर्ने, लखेट्ने र कम्युनिस्ट आन्दोलन फुटाउने या विसर्जनको दिशामा धकेल्ने कार्यमा उद्दत हुनुहुन्छ। तर आरोप अल्पमतमाथि थोपर्ने गरिरहनु भएको छ। अहिले पनि पार्टी भित्रको अर्को पार्टी स्वयं मोहन जिले चलाइ रहनु भएको छ। र त्यसलाई ढाकछोप गर्न राष्ट्रिय जागरण अभियानलाई राजनीतिक पार्टी हो भन्दै हल्काखल्ला गरेर दोष हिजोको अल्पमतमाथि थोपर्ने काम गर्दै हुनुहुन्छ। राजनीतिक पार्टी बनाउनलाई कुन कुन मापदण्ड पुरा गर्नुपर्ने हुन्छ र कस्तो धाँचा र के के चाहिन्छ ? के उहाँलाई थाहा छैन र? राष्ट्रिय जागरण अभियान के हो ? यसको आवश्यकता किन पर्‍यो? यसबारे कामरेड सन्तबहादुर नेपालीले प्रष्ट पार्नु भएकै छ। यसबारे छुट्टै चर्चा गरौंला।

पार्टी जीवनमा भिन्नमत जुनसुकै बेला पनि हुनसक्छ। त्यसलाई समाधान गर्ने कम्युनिस्ट सिद्धान्तको आफ्नै प्रणाली छ। भिन्नमत बिना क्रान्तिले प्रगति पनि गर्न सक्दैन। भिन्नमत स्वीकार गर्न नसक्नु मार्क्सवादी लेनिनवादी सिद्धान्त विपरीत हुन्छ। यो व्यक्तिवादी र सामन्ती चिन्तन हो। उहाँको यस्तो चिन्तन छ भन्ने कुरा सुन्दै आएका थियौं तर आज हामी सबैले आफैं भोगिरहेका छौं। हामी पछिल्लो पुस्ताका कार्यकर्ताले त पहिलोपटक भोगिरहेका छौं तर कैयौं अग्रज नेतागण हामीबीच हुनुहुन्छ, सायद उहाँहरुलाई यसबारे अझै धेरै अनुभव होला। कम्युनिस्ट आन्दोलन अगाडि बढाउने कुरा खेलाची होइन।

यो दुइचारवटा नेता र त्यस वरिपरि घुम्ने केहि झुन्डको व्यक्तिगत जीवनसँग मात्रै जोडिएको विषयमात्रै होइन। यसको सम्बन्ध करोडौं शोषित उत्पीडित श्रमजीवी जनताको मुक्तिसँग जोडिएको छ। हजारौंहजार घरवार छोडेर आन्दोलनमा समाहित हुनुभएका योद्धा र नेता कार्यकर्ताको भविष्यसँग समेत जोडिएको विषय हो। नेतृत्वले आफ्नो हरेक कुराको समर्थन गरे असल कार्यकर्ता र केहि विषयमा भिन्नमत राख्दा बित्तिकै अनेकौं षड्यन्त्र र तानाबाना बुनेर अराजक र अनुशासनहिनताको बिल्ला भिराएर सडकमा फाल्ने प्रवृत्तिकै कारण र आफू मात्रै ठिक हुँ भन्ने बहानामा सिंगो कम्युनिस्ट आन्दोलन फुटको शिकार बनाइ रहने प्रवृत्ति दोहोरिरहने हो भने कम्युनिस्ट आन्दोलनको भविष्य के होला ? कतै यस्तै यस्तै प्रवृत्तिकै कारण हामी सुक्दै सुक्दै गएका त होइनौं? समिक्षा हुनु जरुरी छ। यो तितोसत्य भोगाइले कम्युनिस्ट आन्दोलनको सबैभन्दा प्रारम्भिक टुटफुटको इतिहासको अवलोकन गर्न उत्प्रेरित गराएको छ।

दोस्रो महाधिवेशन पछी रायमाझीले राजावादी लाइन लिए। उनलाई कारबाही गरियो। त्यो स्वभाविक थियो। २०१७ को शाही कु र तेस्रो माहाधिशन पछि कम्युनिस्ट पार्टी टुटफुट तथा छिन्नभिन्न भएको हो। त्यतिबेला पार्टीका कोहि नेता जेलमा, कोहि भारतमा र कोहि नेपालभित्र भुमिगत अवस्थामा रहेका थिए। त्यहीँ बीचमा २०१९ सालमा तेस्रो महाधिवेशन भयो। तुलसीलाल अमात्य नेतृत्वमा चुनिए। उनले भारतीय संसोधनवादी गुट डाँगेसँग सम्बन्ध बनाएर अवसरवादी र दक्षिणपन्थी दिशा समाते। कमाउ धन्दामा लागे। पार्टी अस्तव्यस्त भयो। अधिकांश जिल्ला कमिटिहरु प्राय निस्क्रिय थिए, नाम मात्रका थिए या छँदै थिएनन्। यसबीच तुल्सिलालले दक्षिणपन्थी लाइन लिएको ठहर गर्दै २०२५ सालमा पुष्पलालले गोरखपुरमा सम्मेलन गरेपछि पार्टी फुट्यो। यसैबीच केहि वर्षमा कामरेड मोहनविक्रम सिंह, मनमोहन अधिकारीहरु जेलबाट छुटेपछि उहाँहरुले पनि गतिविधि अगाडी बढाउनु भयो।

२०२८ सालमा केन्द्रीय न्युक्लस गठन भयो। मनमोहन संयोजक रहेको उक्त न्युक्लसमा मोहन विक्रम ,निर्मल लामा, जय गोविन्दशाह, भरतमोहन,कमल कोईराला शम्भुराम श्रेष्ट, भक्त वहादुर श्रेष्ट, चित्र वहादुर केसी लगायतका नेताहरु हुनुहुन्थ्यो। न्युक्लसको उदेश्य भनेको फुटेको र छिन्नभिन्न भएको कम्युनिस्ट पार्टीलाई सकेसम्म एक बनाउने नै थियो। तर न्युक्लसको गतिविधि न तेस्रो महाधिवेशनबाट निर्वाचित नेतृत्वसंग सम्वन्धित भएर बढ्यो । नत गोरखपुर सम्मेलनले निर्माण गरेको नेतृत्व संगको सहकार्यमा बढ्यो । पुष्पलाल समुहसँग केन्द्रिय न्युक्लसको एकता हुन नसक्नुमा कसको कमजोरी रह्यो। यी दुइ समुहबीच आधारभुत रुपमा सिद्धान्त र नीतिमा गम्भीर मतभेद पनि देखिन्न तर दु:खद कुरा एकता हुन सकेन। आज यसको समेत समिक्षा हुनु जरुरी छ। पुष्पलालसँग एकता त हुन सकेन नै अन्ततः केन्द्रीय न्युक्लस ले पनि धेरै लामो समय एकता कायम गर्न सकेन। केन्द्रिय न्युक्लसभित्र दुई मत प्रकट भए। एउटा पक्ष समानान्तर पार्टी निर्माणको पक्षमा थिएन, त्यसको नेतृत्व मनमोहनले गरेका थिए। अर्को पक्ष जसरी पनि समानान्तर पार्टी निर्माण गर्ने पक्षमा थियो, त्यसको नेतृत्व मोहन विक्रमले गर्नुभएको थियो।

कम्युनिष्ट आन्दोलनमा संलग्न आजको नयाँ पुस्ताले कम्युनिस्ट आन्दोलनमा नियोजित फुट कस्तो र कसको कारणले भएको रहेछ भन्ने यथार्थ जानकारी लिनुपर्ने आवश्यकता छ। कम्युनिस्ट आन्दोलनको इतिहासमा क्रान्तिकारी मानिने पुष्पलाल र मोहनविक्रम यी दुई धाराबारे राम्रो अध्ययन नगरी नेपालको कम्युनिष्ट आन्दोलनको प्रारम्भिक विभाजनको कारण वुझ्न गाह्रो पर्दछ। पुष्पलालले गोरखपुर सम्मेलनमा पेश गरेको राजनीतिक प्रतिवेदन र नेपाली क्रान्तिको कार्यक्रम नयाँ जनवाद, पुष्पलाल स्मृति प्रतिष्ठानले पुष्पलालका कृतिहरु चारवटा भागहरु, मोहनविक्रमद्वारा लिखित क्रान्ति वा भ्रान्ति र नेकपा मसाल द्वारा प्रकाशित रातो तरवार दस्तावेज विशेषाङ्क पनि पाठकहरुको लागि प्राप्त छन्। यसको साथै पुष्पलाल र मोहनविक्रमका सहकर्मीहरु निर्मल लामाका केही रचनाहरु र शम्भुराम श्रेष्ठको ‘मेरो राजनीतिक जीवनका संस्मरणहरु’ले पनि पुष्पलाल र मोहनविक्रम बीचका मतभेदबारे बुझ्नको लागि सन्दर्भ सामाग्रीहरु हुन सक्दछन्।

कामरेड मोहनविक्रम र कामरेड पुष्पलाल बीचको मतभेद के हो? तत्कालीन नेपाल कम्युनिष्ट पार्टी विभाजन को सच्चाई के हो त? न्युक्लस गठनको बेला केहि कार्यनीतिक विषयमा चर्को बिबाद देखिन्छ भने चौम गठन गर्दा प्रथम प्रधान अन्तरविरोध, द्वितीय नेकाको वर्ग विश्लेषण र तृतीय कार्यनीति सम्बन्ध मतभेद देखिन्छ। मुलतः न्युक्लस गठन पुर्व या छँदैको कार्यनीतिक सवालको विवाद नै अत्यन्तै तिक्ततापुर्ण भएको कारण यी दुइ हस्ती सदाका लागि विमुख भएको इतिहास बोल्छ। मार्क्सवाद, लेनिनवाद र माओत्सेतुङ्ग विचारधारालाई मार्गदर्शक सिद्धान्त मान्ने, नयाँ जनवादी क्रान्तिलाई न्यूनतम र वैज्ञानिक समाजवाद साम्यवादलाई उच्चतम कार्यक्रम स्वीकार्ने जस्ता रणनीतिक सवालमा गोरखपुर सम्मेलन र न्यूक्लस बीच मत ऐक्यता देखिन्छ। त्यसवेलाको कार्यनीतिक सवालमा त अत्यन्त अनुचित विषय उठाएर वखेडा झिक्ने काम न्यूक्लस पक्षले गरेको पुष्टि हुन आउँछ। न्युक्लस गठनको बेला कार्यनीतिक विवादमा आफ्नो कमजोरी ढाकछोप गर्न न्युक्लस पक्षले प्रधान अन्तरविरोधबारे समेत गोलमटोल व्याख्या गरेको छ।

प्रधान अन्तर विरोधबारे गोरखपुर सम्मेलनले भनेको छ “नेपालको ऐतिहासिक स्थितिलाई हेर्दा आजपनि हाम्रो समाजको मूल अन्तर विरोध १. साम्राज्यवादको साथै भारतीय एकाधिकार पूँजीवाद र नेपाली जनताको बीच तथा २. सामन्ती शाही हुकुमी पञ्चायती व्यवस्था र अन्य तमाम क्रान्ति पक्षीय जनसमुदाय बीच छ।” ( नयाँ जनवादी कार्यक्रम )। यसैगरी मूख्य अन्तर विरोधवारे न्युक्लसले भनेकोछ, “..त्यस अनुसार सामन्त, दलाल र नोकरशाही पूजीपति वर्ग क्रान्तिका मूख्य दुश्मन हुन जान्छन्।

देशभित्रको क्रान्तिमा सामन्त वर्गसितको अन्तरविरोध नै प्रधान अन्तर विरोध हो। नेपालको विशेष वस्तुस्थिति अनुसार विदेशी प्रतिक्रियावादी शक्तिहरु मध्ये सोभियत सामाजिक साम्राज्यवादद्वारा समर्थित भारतको एकाधिकार पूँजीपति वर्गसितको अन्तर विरोध प्रमुख छ।”(रातो तरवार पृष्ठ नं ४)। यसैगरी पुष्पलालले राजा र पन्चायती व्यवस्थालाई मुल शत्रु देखाएको र भारतीय प्रतिक्रियावाद र काँग्रेसको विरोध देखाए पनि नाम मात्रको भएको चर्चा गर्दै न्युक्लस दस्तावेजमा भनिएको छ, “….भारतीय प्रतिक्रियावादको विरोध दर्शाएको जस्तो देखिएता पनि उनको कार्यकलापबाट भारतले नेपालप्रति आर्थिक तथा राजनीतिक उपनिवेश बनाउने दृष्टिकोणलाई आँखा चिम्लेर अप्रत्यक्ष रूपमा भारतको त्यस कार्यलाई सघाउ पुर्‍याइरहेका छन्। पहिले पि. एल. रायमाझीको गद्दारीमाथि विरोध दर्शाउन अगुवा थिए, अहिले आएर यी तमाम उनका कार्यविधिले गर्दा उनी घुमेर रायमाझीको नजीक पुगेका छन्।” ( रातो तरवार पृष्ठ नं ३५ )

यी दुई दस्तावेजका यी भनाइ विश्लेषण गर्दा गोरखपुर सम्मेलनले साम्राज्यवाद र भारतीय एकाधिकार पूजीवाद लाई वाह्य मुख्य दुस्मन भनेको छ। भने न्यूक्लसले सोभियत समाजिक साम्राज्यवाद समर्थित भारतीय एकाधिकार पूँजीवादलाई भनेकोछ। यसवाट के वुझिन्छ भने गोरखपुर सम्मेलन साम्राज्यवाद (अमेरीकी)सँगको भारतीय एकाधिकार पुँजीवाद र न्यूक्लसले सोभियत सामाजिक साम्राज्यवादद्वारा समर्थित भारतीय एकाधिकार पुँजीवादसँगको मुख्य अन्तर विरोध मान्दछन्। सत्य के हो? छलफल गर्नु जरुरी छ। अर्कोतिर गोरखपुर सम्मेलनले स्पष्ट रूपमा बाह्य प्रमुख अन्तरविरोध, “साम्राज्यवादको साथै भारतीय एकाधिकार पूँजीवाद र नेपाली जनताको बीच” भनेकै छ तर न्युक्लस पक्षले भारतीय प्रतिक्रियावादको विरोध दर्शाएको जस्तो गरेपनि भारतको नेपालमाथि उपनिवेश बनाउने नीतिप्रति आँखा चिम्लेको विश्लेषण गर्दै पुष्पलाल घुमेर रायमाझीको नजीक पुगेको चर्को आरोप लगाइएको छ।

त्यसैगरी आन्तरिक अन्तरविरोधबारे गोरखपुर सम्मेलनले प्रष्टसँग इङ्गित गरेकोछ शाही सामन्तवाद र यसको हुकुमी पञ्चायती व्यवस्थासँग नेपाली जनताको मुख्य अन्तर विरोध छ। न्यूक्लसले सामन्त वर्ग सितको अन्तरविरोधलाई प्रधान ठानेको छ। यसमा प्रष्ट फरक देखिन्छ । गोरखपुर सम्मेलनले सामन्तवादमात्र भनेन त्यसको नेतृत्व गरिरहेको शाही सामन्तवाद नै किटान गरेको र यसको नेतृत्वमा रहेको निरंकुश पञ्चायती व्यवस्था या राजा मुख्य दुश्मनको कोटीमा राखेको छ। तर न्यूक्लसले सामन्तवर्गसित भन्ने शव्दावलीको प्रयोग गरेको छ। यसले शाहीतन्त्रलाई किटान पनि गरेको छैन। काँग्रेस पनि सामन्ती दलाल र नोकरशाही भएको विश्लेषणको सन्दर्भमा तत्कालीन व्यबहारमा राजाभन्दा काँग्रेसको चर्को आलोचना भएको र सिद्धान्तमा राजा र काँग्रेस एउटै कोटिका दुश्मन मानेको प्रष्ट हुन्छ। यसमा राजा र काँग्रेस बीच वर्ग चरीत्रको विश्लेषण गर्दा यी दुई छुट्टाछुट्टै राजनीतिक शक्तिको कार्यनीतिक सवालमा फरकफरक राजनीतिक भुमिका हुने कुरा अस्वीकार गरिएको हो या किन ओझेल पारियो? बढो आश्चर्यजनक छ। अब अहिलेको पुस्ताले यसबारे समेत अध्ययन गर्नुपर्छ।

न्यूक्लसले गोरखपुर सम्मेलनप्रति आपत्ति गरेको र पुष्पलाललाई गद्धार भनेको मूख्य कारण चाहिँ कार्यनीतिक प्रश्नमै हो भन्ने कुरा प्रष्ट पार्दै गोरखपुर सम्मेलनले आफ्नो कार्यनीतिक प्रस्तावमा भनेको छ, “आज सम्पूर्ण जनताको असन्तोषको केन्द्र विन्दु शाही हुकुमी पंचायती व्यवस्था हुनगएको छ। तसर्थ यो सँग आजको स्थितिमा शत्रुतापूर्ण अन्तरविरोध राख्ने सम्पूर्ण वर्ग तथा वर्गीय स्तरहरुसँग कार्यगत एकता कायम गर्ने प्रयास गर्दै सामन्ती अधिनायकवादी पञ्चायती व्यवस्थाको विरोधमा आन्दोलन उठाउने आजको हाम्रो कार्यनीति हुनु पर्दछ। यसका कारण विभिन्न वर्ग तथा वर्गीय स्तरहरुको मिलन विन्दु यही हो। अत मूख्य शत्रुलाई एक्लो वनाउने र मुख्य रुपले यसैलाई प्रहार गर्ने अनुसारको कार्यनीतिलाई आज सम्पूर्ण कम्युनिष्टहरुले प्रतिदिन व्यवहारिक रुप दिनु पर्दछ।

मूख्य आक्रमण सामन्ती अधिनायकवादी पंचापती व्यवस्थामाथि नगरी “एउटै वाँणले दुई भिन्न डालीमा बसेका दुवैचरालाई एकै पल्ट मार्छु ” भन्ने नीतिको विरोधमा सैद्धान्तिक संघर्ष चलाउनु पर्दछ। मुख्य आक्रमणको तारो सामन्ती शोषण व्यवस्था र यसलाई टिकाई राख्न खोज्ने राजा तथा पंचायती व्यबस्थामाथि नै हुनु पर्दछ। साथै राजा र पंचायती व्यवस्थाको गुण गानमा लागि हुकुमी पंचायती व्यवस्था विरोधी आन्दोलनको विरोध गर्नेहरुमाथि पनि हाम्रो आक्रमण जारी राख्नु पर्दछ। साथै सामन्ती संस्कृति रीति स्थिति,चालचलन, बोलीचाली ,भेषभूषाआदि र पूँजीवादी संस्कृति तथा राजनीतिक विचार धाराको खिलाफमा संघर्ष चलाउने कुरालाई सदैव कायम राख्नु पर्दछ।” (नयाँ जनवादी कार्यक्रम )। यस सम्बन्धमा न्यूक्लसले दुई कार्यनीति अगाडी सारेकोछ, “आज देशका अगाडि दुई आधार भुत कार्यभारहरु छन्ः- प्रथम, निरडकुश, पञ्चायती प्रणालीको अन्त्य, द्वितीय, देशको सार्वभौमिकता र स्वतन्त्रताको रक्षा।

जहाँसम्म देश भित्रको राजनीतिक संघर्षको प्रश्न छ, यो वर्तमान व्यवस्था विरुद्ध केन्द्रित हुनुपर्दछ तर व्यवस्था विरुद्धको संघर्षलाई खालि उपरी अर्थमा नलिएर यसको वास्तविक अर्थमा लिनु पर्दछ । जुन प्रणाली आज स्वयं यस भित्रका असंगतिका कारणले मरणान्त अवस्थामा पुग्दैछ,त्यसलाई मात्र हटाएर यो व्यवस्थाको अप्रजातान्त्रिक र अराष्ट्रिय स्वरुपलाई जस्ताको तस्तै रहन दिईयो भने व्यवस्था विरोधी सघंर्षको कुनै अर्थ रहने छैन।

देशको सार्वभौमिकता र स्वतन्त्रताको लागि संघर्ष गर्नु पनि आज अत्यन्त महत्व पूर्ण कुरा हुन आएको छ। देशी विदेशी दुवै प्रतित्रियावादी शक्तिहरु एक अर्काका पुरक र सहायक तत्वहरु रहेका छन्। वर्तमान व्यवस्थाको अप्रजातान्त्रिक तथा अराष्ट्रिय पक्षका विरुद्ध संघर्ष तेज हुना साथै विदेशी प्रतिक्रियावादी शक्तिहरु यसको मद्दतमा आउने छन। भारतीय एकाधिकार तथा अमेरिकी साम्राज्यवाद विरुद्धको संघर्षलाई बढ्न नदिन वर्तमान व्यवस्था अगाडी आउनेछ। त्यसकारण वर्तमान व्यवस्थासितको संघर्ष स्वतः विदेशी प्रतिक्रियावाद विरोधी संघर्ष र, विदेशी प्रतिक्रियावाद विरोधी संघर्ष देशीय प्रतिक्रियाद विरोधी संघर्ष हुन जान्छन।

त्यसकारण यी दुई मध्ये कुनैपनि पक्ष सितको संघर्षलाई गौण रुपमा राख्नु विलकुल गलत कुरा हुनजान्छ। वर्तमान राज्य व्यवस्था विरुद्ध आज देशमा खालि नेकपाले मात्र आवाज उठाई रहेको छैन। नेका वाहेक हिजोसम्म राजाको छत्रछायामा वसेका रायमाझी ग्रुप, कतिपय भूतवपूर्व राजनीतिज्ञले पनि पंचायती व्यवस्था विरुद्ध आवाज उठाउन थालेका छन। हिजोसम्म पञ्चायती व्यवस्थाको प्रतिक्रियावादी रुपबाट बिशिष्ट फाइदा उठाईरहेका पञ्चायतवादीहरु रातोरात प्रजातन्त्रका हिमायती र क्रान्तिकारी वन्दै गई रहेका छन। स्वयं राजाका तर्फवाट पनि पञ्चायती प्रणालीप्रति उदासिनता र उपेक्षको नीति अपनाईको पाईन्छ। आखिरी यो सवै किन भैरहेको छ ?

विद्यमान पञ्चायती अब यति धेरै भ्रष्ट, वदनाम र कमजोर भईसकेको छ कि आज जुन अवस्थामा छ, त्यस रुपमा यो देशी वा विदेशी प्रतिक्रियावादी स्वार्थहरुको रक्षा गर्न सक्ने अवस्था छैन। त्यसैले प्रतिक्रियावादीले जनमतको धार पञ्चायती ढाँचातिर मात्र मोडेर यसको वास्तविक अराष्ट्रिय र अप्रजातान्त्रिक रुप कायम गर्ने प्रयत्न गर्दै छन। वर्तमान व्यवस्था विरोधी कार्यनीतिको मुल तत्व यही हो। पिएलले त्यसको वास्तविक चरित्र नवुझेर— या प्रतिक्रियावादी संगको साँठगाँठले सत्यकुरालाई वुझ्न अस्विकार गरेर — त्यही पञ्चायती प्रणलीको खोलको विरोधलाई नै आजको क्रान्तिको मूलभूत कर्तव्य वताउदै गइरहेका छन। यही कारणले नै उनी काँग्रेस, रायमाझी र भारतीय एकाधिकार सवैसित मिल्दै गई रहेकाछन। त्यसले गर्दा उनले गर्ने राजाको विरोध महत्वहीन र अवास्तविक बन्न जान्छ। यदि प्रतिक्रियावादी कार्यनीतिको सही स्वरुपलाई सम्झन नसके हमी पनि पि.एलकै ठाँउमा उभिन पुग्ने छौ र त्यो नव संशोधनवादी गल्ति हुनेछ।” (रातो तरवार पृष्ठ नं ८ र ९)

उक्त भनाईहरु केलाउदा के प्रष्ट हुन्छ भने राजा र पंचायतलाई मुख्य दुश्मन ठानेर त्यसको विरुद्ध रहेका शक्तिहरु बीच संयुक्त आन्दोलन गर्ने कार्यनीतिक कार्यदिशा लिएकै कारण न्यूक्लसले पिएललाई ‘‘गद्धार’’ भनेको रहेछ। इतिहासको अध्ययन गर्दा स्मरणीय के छ भने ठिक त्यसैवेला नेपाली काँग्रेसका नेताहरु जेलवाट रिहा भएपछि भारत प्रवासमा रहेर निर्दलिय निरंकुश तानाशाही पञ्चायतको विरुद्ध संघर्ष गर्ने तरखर गर्दै थिए। पुष्पलाल पनि भरतमै निर्वासित जीवन विताईरहेका थिए र संयुक्त संघर्षको कार्यनीति वनाईरहेका थिए। यस्तो बेलामा न्युक्लसले निरंकुश पंचायती व्यवस्था विरुद्धको काँग्रेसको संघर्षगर्ने कार्यनीतिलाई गोलमटोल दृष्टिमा र रायमाझी देखि स्वयं कतिपय राजावादी रातारात पंचायत विरुद्ध लागेको प्रसंगसँग जोडेर पुष्पलालको काँग्रेससँगको संयुक्त आन्दोलनको कार्यनीतिको विरोध गरेको छ। यस कार्यलाई ०४६ सालको आन्दोलन र ०६२/०६३ को प्रतिगमन विरुद्धको आन्दोलनमा हामीले काँग्रेससँग संयुक्त आन्दोलन गरेको कुरा र अझै ०४६ सालका उपलब्धिको रक्षाको साँचो मुद्दाले तत्कालीन न्युक्लसको काँग्रेसमाथिको विश्लेषण र पुष्पलालमाथिको व्यबहारलाई इतिहास भरि गिज्याइरहने प्रष्ट छ।

यसै गरी २०१७ सालको लगत्तै बसेको दरभङ्गा प्लेनमले रायमाझी गुटले नेपाली काँग्रेसलाई प्रमुख दुश्मन भन्नु पर्दछ भन्ने विचारको विरुद्ध निर्णय गर्दै भनेकोछ, “देशमा जनतालाई आज फेरि आफ्नो प्रजातान्त्रिक अधिकारको रक्षार्थ अघि वढाउने काममा कम्मर कस्नु परेको छ। यस कदममा अहिले हाम्रो पार्टी मात्र एक्लो छैन,नेपाली काँग्रेस पनि यस हुकुमतवादको विरुद्ध खडा छ। राजाको हुकुमतको विरोधमा उठेको यो देशव्यापी विरोधमा राजनीतिक शक्ति लगायत तल जनताको बीच पनि आज बन्न सक्ने यो व्यापक एकताको सम्भावनालाई ध्यान दिन हामीले विर्सनु छैन।” ( पुष्पलाल, छानिएका रचनाहरु बाट )

। त्यसैगरी तेस्रो माहाधिवेशनले नेपाली काँग्रेसवारे भनेको छ, “नेपाली काँग्रेस पूजीपति वर्गको पार्टी हो। नेपाल एक अविकसित देश हुुँदा यहाँको पूँजीपतिवर्ग कमजोर पूँजीपति वर्ग हो र यस्तो पूँजीपति वर्गको सम्वन्ध जमिनसँग रहनुका साथै यसको सम्वन्ध साम्राज्यवादीहरु तथा विदेशी एकाधिकार पुँजीपति वर्ग तथा भारतीय पूँजीपति वर्गसँग पनि रहेर आएको छ। यसै निम्ति यसको दोहारोे चरित्र छ भन्ने कुरा मानिदै आएको छ।”

“ …… एकता र संघर्ष नै संयुक्त मोर्चाको सही नीति हुँदा नेपाली काँग्रेसको क्रान्तिकारी भावनासँग एकता र त्यस पार्टीको विदेशी साम्राज्यवाद तथा विदेशी एकाधिकार भारतीय पूँजीसँग सम्झौतापरस्त नीतिमा संघर्ष गर्नु पर्दछ। यसै निम्ति नेपाली काँग्रेससँग संयुक्त मोर्चा हुनुहुन्न भन्ने भनाई गलत हो भने संयुक्त मोर्चाको नाममा हाम्रो स्वतन्त्र राजनीति, कार्यक्रम र संगठनको जरुरीलाई महसुस नगर्नु पनि अर्को गलत हो। आफ्नो राजनीति र कार्यक्रमलाई स्वतन्त्ररुपले जनतामा लगी सैद्धान्तिक तथा संगठनात्मक संघर्षलाई जारी राख्दै राजा महेन्द्रको हुकुमी शाही व्यवस्था संग लडन संयुक्त मोर्चा हुनु अत्यन्त जरुरी छ।”( पुष्पलाल, छानिएका रचनाहरु बाट )। पछि आएर चौमले नेकाबारे भनेको छ, “आज देशमा कम्युनिस्ट पार्टी बाहेक अर्का दुई राजनीतिक शक्तिहरु देखिन्छन् – राजा र काँग्रेस। दुबैको वर्ग चरीत्र समान छ। ……….. गौण रूपमा उनीहरुका बीचमा कैयौं अन्तरविरोधहरु छन्।”( रातो तरवार पृष्ठ नं ६८ ) यसैगरी चौम नेकाबारे अझै अगाडि भनेको छ, “ने.का. को साम्राज्यवाद, विदेशी एकाधिकार र सामन्तवाद परस्त चरित्रवारे पार्टीमा सामान्यतः अस्पष्टता रहेन । अस्पष्टता त्यसको वर्ग चरित्र वारे नै रहेको थियो ।

तर त्यसको देशी वा विदेशी प्रतिक्रियावाद परस्त चरित्रको मूलमा कुन कारणले काम गरेको थियो ? यसवारे लामो समयसम्म पार्टी भित्र कतै कतै यो सोचाईले काम गर्‍यो कि उसको त्यस प्रकारको दोषको कारण नेपालमा राष्ट्रिय पूँजीपति वर्गको अविकसित अवस्था र उसको दोहोरो चरित्रको परिणाम हो। त्यो गलत सोचाइले राष्ट्रिय पूँजीपति वर्गको विकास गर्दै जानु तथा जनवादी आन्दोलनको शक्ति वढ्दै जानुका साथै नेका को यस प्रकारको स्वभावमा सुधार हुदै जानेछ र झन झन सामन्तवाद, साम्राज्यवाद विरोधी संघर्षमा देखा पर्दै जानेछ भन्ने अर्को गलत सोचाईलाई जन्म दियो। रायमाझी र पीएलको यही विचार छ। राष्ट्रिय पूँजीपति वर्गकोबारे यो सोचाई सही हो ..तर नेका वारे यसप्रकारको धारणा मौलिक रुपले गलत हो। “जसलाई हामीले नेकाको साम्राज्यवाद, विदेशी एकाधिकार सामन्तवादप्रतिको झुकाउ भन्दछौ,त्यो झुकाउ मात्र होइन ,यथार्थमा उनीहरुको वर्ग स्वार्थको नै प्रतिनिधित्व गर्ने दल हो ।”(रातो तरवार पृष्ठ नं ५९ )

यसरी अब दरभङ्गा प्लेनम देखि चौमसम्मका यी विभिन्न दस्तावेजका केहि अंशको मात्रै अध्ययन गर्ने हो भने के निष्कर्ष निकाल्न सकिन्छ भने केन्द्रिय न्युक्लस र चौमको नेकाबारे वर्गदृष्टिकोण अवलम्बन गर्ने सन्दर्भमा न्युक्लसको रणनीतिक रुपमा नेका दलाल पुँजीपतिको पार्टी भइसकेको र यो नयाँ जनवादी क्रान्तिको दुश्मन शक्ति भएको विश्लेषण सहि छ। तर कार्यनीतिक रूपमा र राजनीतिक रूपमा राजा र नेकाको फरक भुमिकाबारे र निरंकुश तानाशाही पंचायती व्यवस्था विरुद्ध संघर्षको कार्यनीति बनाउदा नराम्रोसँग चुकेको देखिन्छ। यहीँ कार्यनीतिक सवालमा नै पुष्पलालसँगको सम्बन्ध भंग हुनु कम्युनिस्ट आन्दोलन एकताको सवालमा दु:खद कुरा हो।

गोरखपुर सम्मेलनले रणनीतिक रूपमा नेकालाई दलाल पुँजीपति वर्गको पार्टी भनेर ठम्याउन नसक्नु पुष्पलालको तत्कालीन कमजोरी हो। तर केहि वर्ष पछि अन्ततः पुष्पलाल समूहले समेत काँग्रेसलाई दुश्मन शक्ति स्वीकार गरेको छ। आजको सन्दर्भमा कुरा गर्ने हो भने आठौं महाधिवेशनमा अल्पमत पक्षले सत्तासीन नेकपाको नेतृत्व तह दलाल तथा नोकरशाही पुँजीवादी भैसक्यो अब यीनले नयाँ जनवादी क्रान्तिको लागि मित्रशक्तिको भुमिका खेल्न सक्दैनन् भन्ने कुरासँग बहुमत सहमत हुन नसक्नु तत्कालीन पुष्पलालले रणनीतिक रूपमा काँग्रेसको वर्ग चरीत्र ठम्याउन नसकेको सन्दर्भसँग मेल खान्छ। आज बहुमत पक्षले कार्यनीतिक प्रश्नको हवलाको आडमा प्रतिक्रियावादी संसदीय व्यवस्थाबाट नै समाजवाद आउने कुरालाई छ्द्म रूपमा स्वीकार गरेको छ। जस अनुसार संविधान, गणतन्त्र र सत्तासीन नेकपाको फेर समातेर समाजवादमा पुग्न वैतरनी तर्ने सुर कसेको छ। आजको हाम्रो पारित टिठलाग्दो कार्यनीति र पार्टी तथा नेतृत्वको व्यबहार हेर्दा स्पष्ट रूपमा त्यो अनुभुती गर्न सकिन्छ।

सकभर पार्टी एक बनाउन न्यूक्लसको गठन पूर्व र पछि पनि गोरखपुर सम्मेलन मार्फत वनेको नेतृत्वसंग पटक पटक वार्ता भएको देखिन्छ। तर त्यो वार्ता लाई जसरी पनि सफल हुन नदिने वातवरण वनाउन न्यूक्लसका केही नेताहरु खासगरी कामरेड मोहनविक्रम लाग्नुहुन्छ। हतार हतार गद्धार पुष्पलालको प्रकासन पनि वार्ता निष्कर्समा पुग्न सक्ने संभावनालाई रोक्न प्रयोग भएको हतियार हो भन्नेहरु नै त्यतिबेला उहाँका सहपाठी हुनुहुन्छ। वार्तावारे न्यूक्लसका एकजना सदस्य शम्भुराम श्रेष्ठले दिएको अभिव्यक्तिले केही जानकारी लिन मदत पुग्दछ। उनले “मेरो राजनैतिक जीवनका संस्मरणहरु” मा वार्ताका विवरणहरु लेखेका छन्। न्युक्लस गठन हुनुपुर्व वार्तामा मनमोहन अधिकारी र शम्भुराम संलग्न भएको र वार्ताको केन्द्रीय विषय पार्टीको एकीकरण नै थियो।

शम्भुरामले गोरखपुर सम्मेलनले गठन गरेको पार्टी विघटन र वृहत एकता सम्मेलनको प्रस्ताव गरे।यसप्रति पुष्पलाल पनि सकारात्मक नै थिए। उनले प्रथम एकता सम्मेलन सफल हुने कुरामा भने शंका व्यक्त गरे र भने एकता सम्मेलनमा सैद्धान्तिक तथा राजनीतिक विषयमा सहमति भएमा मात्र आफुले वनाएको पार्टीलाई विघटन गर्ने अडान अगाडी सारे। गोरखपुर सम्मेलनले गठन गरेको पार्टी विघटनको पूर्व शर्तमा कुरा मिलेन। यही कारणले त्यसबेलाको वार्ता विफल भयो। शम्भुरामको संस्मरण अनुसार पुष्पलालसँग कुरा नमिले पछि नेपाली कमयुनिष्ट आन्दोलनलाई पुनर्एकीकरण गर्ने एकमात्र उदेश्य राखी मनमोहन अधिकारीको अध्यक्षतामा न्युक्लस गठन भयो। तर न्युक्लियस त्यस दिशामा अघि बढेन। वृहत्तर एकताको निम्ति यसले प्रयासै गरेन। बरु फुटको निम्ति वातावरण तयार गर्न थाल्यो। एकाएक न्युक्लियस भित्र शुरुमै हाम्रो विरोधका वावजुद कथित वहुमतको नाममा पुष्पलाललाई सफाई पेश गर्ने अवसरै नदिई एकतर्फी उनलाई ‘‘गद्धार’’ घोषणा गर्ने काम भयो। शम्भुराम लेख्दछन्,- ‘‘त्यस कुकार्यका अगुवा मोहन विक्रमसिंह जी.सी.। उनलाई नेपालको माओत्सेतुङ्ग भनी प्रचार प्रशंसा गरी हिडने भाट निर्मल लामा थिए भने भित्र भित्रै उक्त कुकार्य गर्न उनीहरुलाई उक्साउने र सहयोग गर्ने व्यक्तिहरु थिए भरतमोहन अधिकारीहरु।”

यदि यस्तो महत्वपूर्ण र गम्भीर परिस्थितिमा एकता बिथोल्न नै हतारमा पुष्पलाललाई गद्दार भनिएको हो भने त्यसको पुनः समिक्षा हुन जरुरी छ। उक्त गद्दार भनिएको कुरा त सच्याइएको छ। तर त्यसले कम्युनिस्ट आन्दोलनलाई पुर्‍याएको क्षती र यस्तो गलत आरोप लगाइ हाल्ने प्रवृत्तिले कम्युनिस्ट आन्दोलनको भविष्य के होला ? अहिले पनि कामरेड महामन्त्रीले अल्पमत पक्षलाई इङ्गित गर्दै सिआइडी तथा रअ को आरोप लगाइ रहनु भएको छ। कामरेड सन्तबहादुर नेपाली र कामरेड गोविन्द सिंह थापाहरुलाई “दुश्मनका एजेन्ट” भनेर कार्यकर्तालाई प्रशिक्षण दिनुहुन्छ। आफ्ना गल्ती कमजोरी ढाक्न जे मन लाग्यो त्यहीँ भनीहाल्ने कतै यो उहिल्यै देखिको बानी त होइन? प्रश्न गर्ने ठाउँ सृजना भएको छ।

गोरखपुर सम्मेलनसँग वार्ता विफल भएको समय वित्तैजाँदा क. निर्मल लामाले जव यो रहस्य थाहा पाए तव उनले पश्चाताप गर्दै ‘म त्यो पाप पखाल्न चाहन्छु’ भन्ने अभिव्यक्ति नै दिनुभयो। त्यति मात्र हैन चौथो माहाधिवेशनको माहामन्त्रिको हैसियतमा पुष्पलालको निधनमा शोक वक्तव्य नै जारी गर्नुभयो। भनिन्छ कि त्यस वक्तव्यमा पुष्पलाललाई क्रान्तिकारी नेता भने वापत पार्टी मिटिङ्गमा उहाँको गम्भीर आलोचना सम्म गर्ने काम भयो। ‘‘गद्धार पुष्पलाल’’को प्रकाशन पछि न्युक्लिसमा समेत ठुलो हानी नोक्सानी भयो। धेरैले न्युक्लस नै छोडे। उसबेला पनि जो जो कामरेड मोहनविक्रमसँग असहत भए तिनलाई कसैलाई राजावादी, कसैलाई अवसरवादी र कसैलाई दक्षिणपन्थीका विल्ला लाग्न थाले। यस प्रसंगमा उहाँकै सहपाठी शम्भुराम श्रेष्ठ लेख्दछन, ‘‘ …… तर अहिलेसम्म पनि विचार नमिलेको कामरेडको विरुद्ध षडयन्त्र गर्ने र नमिलेकाहरुलाई मिलाउने त के, मिलेकाहरुलाई पनि फुटाउने त मोहन विक्रमको जन्मजात स्वभाव नै भईसकेको छ। यस्तो स्वभाव यस्तो वानी कहिल्यै मर्दैन, मोहनविक्रम मरेपछि मात्र उनीसँगै मर्नेछ।’’

कामरेड मोहन विक्रमको यस्तो अनुचित मतभेद सृजना गरेर या वास्तविक मतभेदलाई डाइभर्ट गरेर अस्वस्थ छ्लफल गर्ने र आफ्नो राज गर्ने प्रवृत्ति केवल पुष्पलालसँग मात्र होइन अन्य समय, सन्दर्भ र व्यक्तिसँग पनि छन्। ती सबै यहाँ चर्चा गर्नु संभव छैन। नेपाल कम्युनिष्ट पार्टी एकीकरण छोडौं, त्यतिबेला उहाँले आफैले गठन गरेको न्युक्लियस विभाजन गर्नुभयो। आफैले अध्यक्ष बनाएका मनमोहनलाई उनीसँग असहत हुना साथै ‘‘अव मनमोहन राजा र ने.का.दुवैको दलाल बन्न पुगेका छन’’ भनेर आरोप लगाउने, शम्भुरामलाई राजावादीको आरोप लगाउने काम भए। त्यसैगरी २०४० सालमा आफ्ना असहमति राखेको कारण निर्मल लामालाई दक्षिणपन्थी अवसरवादको विल्ला भिराएर सिआइडी समेतको आरोप लगाएर पार्टीबाट निष्कासन गरियो। यसले के प्रमाणित भएको छ भने कामरेड मोहनविक्रम भिन्नमत सहन सक्नुहुन्न।

मैले न्युक्लस गठन र चौमको पेरिफेरिमा रहेर हाम्रा कमजोरी के के रहे भन्नेबारेमा समिक्षा गर्दैगर्दा कामरेड मोहनविक्रम सिंहको कम्युनिस्ट आन्दोलनमा कुनै योगदान नै छैन भन्न खोजेको छैन। उहाँले आफ्ना कमजोरी पनि स्वीकार गर्ने र सच्याउने गर्नुपर्‍यो। त्यो नै सिंगो कम्युनिस्ट आन्दोलन र स्वयं उहाँको लागीसमेत हित हुनेछ। उहाँले नेपालको कम्युनिस्ट आन्दोलनमा कतिपय समयमा उचित कदम चालेर कम्युनिस्ट आन्दोलनको सुरक्षा समेत गर्नुभएको छ। प्रगतिशील साहित्य र राजनीतिक विश्लेषणमा समेत उहाँ अब्बल हुनुहुन्छ। विशेषगरी उहाँको २०४२ सालको मध्यपंथीहरु सँगको संघर्षमा कष्टकर तर दृढ़ संघर्षले नै क्रान्तिकारी आन्दोलनको सुरक्षा भएकै हो। त्यतिबेला वैद्य समुहले हामिमाथि बहुमतको आडमा गरेका निर्णय, दिएको सास्ती र पिडाको बयान गरि साध्य छैन। इतिहासको मजाक आज आठौं महाधिवेशन देखि आजका दिनसम्म कामरेड मोहन जी वैद्यको ठाउँमा हुनुहुन्छ। उहाँ बहुमतको आडमा, अनुशासनको नाउँमा र पार्टी शुद्धिकरणको नाउँमा मनपरि निर्यण गर्दै हुनुहुन्छ। र आठौं महाधिवेशनको अल्पमत पक्षले ०४२ साल तिरको पिडा र सन्ताप पुनः व्यहोर्नुपरेको छ। त्यसैले भिन्नमत राखेकै आधारमा फुटको वातावरण स्वयं कामरेड मोहन जीले बनाउदै हुनुहुन्छ। फुटपरस्त उहाँ नै हो। ०४२ सालको जस्तो प्रकृति मिल्दोजुल्दो भएपनि अहिलेको अल्पमत उतिबेला जस्तो अलग हुनेछैन। संघर्ष गर्दै जानेछ। नेकपा मसाल नै क्रान्तिकारी पार्टी हो। यसका कमिकमजोरी सुधार गर्नेछ। अघि बढ्ने छ।
२०७७/०४/०८