स्रोत नखुलेको रकमसहित डिभिजन वन कार्यालय प्रमुख पक्राउ

सुनसरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय सुनसरीमा कार्यरत डिभिजन प्रमुख रामबाबु साहलाई रु पाँच लाख ५३ हजार घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।

आयोगको इटहरी कार्यालयबाट खटिगएको टोलीले साहलाई कोशी गाउँपालिका–८ सुनसरीबाट पक्राउ गरेको हो । घुसबाट उठाएको रकम लिएर रौतहटतर्फ जाँदै गरेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले बा २ झ ४१० नम्बरको सरकारी गाडीमा लुकाइ राखेको अवस्थामा उक्त रकमसहित साहलाई पक्राउ गरेको हो ।

आयोगको टोलीले डिभिजन प्रमुख साह र उनको श्रीमती किरण साहको साथबाट स्रोत नखुलेको उक्त रकम बरामद गरेको हो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण आयोजना कार्यान्वयन इकाइ लमजुङका इञ्जिनीयर भूपेन्द्रकुमार मण्डल र असिस्टेन्ट सव इञ्जिनीयर टीकाप्रसाद गुरुङलाई पक्राउ गरेको छ ।

आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार आठ जना लाभग्राहीको भवन निर्माणको किस्ताबापत प्राप्त गर्नुपर्ने रकम विभिन्न बाहानामा जनही रु ५० हजारका दरले रु चार लाख घुस लिएको पाइएको छ । आयोगको पोखरा कार्यालयबाट गएको टोलीले उनीहरुलाई बेंसीशहरबाट पक्राउ गरेको हो ।