वीरगञ्जमा मृत्यु भएकी युवतीमा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, गण्डक अस्थायी कोभिड अस्पतालको आइसोलेसनमा मृत्यु भएकी युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ । बारा परवानीपुर गाउँपालिका–४ घर भएकी १७ बर्षीया सबनम खातुनको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो । उनको शुक्रबार साँझ साढे ५ बजे मृत्यु भएको थियो ।

बुधबार नारायणी अस्पतालमा भर्ना भएकी खातुनको स्वास्थ्य अवस्था गम्भीर भएपछि वीरगञ्ज हेल्थ केयर अस्पताल लगिएको थियो । त्यहाँको आकस्मिक कक्षमा भर्ना गर्दा अवस्था गम्भीर देखिएपछि उनको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण गरिएको थियो । आरडीटी एन्टीबडी पोजेटिभ देखिएपछि कोरोना संक्रमणको आशंकामा बिहीबार गण्डक कोभिड अस्थायी अस्पतालमा भर्ना गरिएकोमा शुक्रबार उपचारको क्रममा मृत्यु भएको हो ।

पीसीआर परीक्षणका लागि नारायणी अस्पतालको प्रयोगशालामा पठाइएको थियो । अस्पतालको प्रयोगशालाबाट शुक्रबार बेलुकी पीसीआर रिपोर्ट पोजेटिभ आएको हो । शव अस्पतालकै आइसोलेसनमा राखिएको र शनिबार सेनाले शव व्यवस्थापन गर्ने बताइएको छ ।

योसँगै वीरगन्जमा तीन दिनमा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भएको छ । यसअघि शुक्रबार बिहान वीरगन्जकै कोभिड अस्पतालको आइसोलेसनमा वीरगन्ज ११ श्रीपुरकी ८५ वर्षीया महिलाको मृत्यु भएको थियो । गत मङगलबार पनि आइसोलेसनमै मृत्यु भएका वीरगन्ज माइस्थानका ७० वर्षीया बृद्धमा पनि संक्रमण पुष्टि भएको थियो ।