कोरोना संक्रमित बढेपछि वीरगञ्जमा भोलिदेखि निषेधाज्ञा

वीरगञ्ज । कोरोना संक्रमित र कोरोनाबाट मृत्यु हुनेको संख्या थपिंदै गएपछि वीरगञ्जमा निषेधाज्ञा लगाइएको छ । शुक्रवार बसेको जिल्ला विपद् व्यवस्थापन केन्द्रको बैठकले शनिवार बिहान ५ बजेदेखि लागू हुने गरी अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको हो । निषेधाज्ञा अवधिभर औषधी उपचार र अत्यावश्यकीय कामबाहेक अन्य प्रयोजनका लागि घरबाहिर निस्किन रोक लगाइएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए ।

सुरक्षा र स्वास्थ्कर्मी, दूध, खानेपानी, दमकल, सञ्चारका गाडी चल्न पाउने जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको सूचनामा उल्लेख छ । भन्सार, सुक्खा बन्दरगाह, बैंक, फोहोरमैला व्यवस्थापन, इन्धन एम्बुलेन्स, औषधीजस्ता सेवाका सवारी साधन सञ्चालनमा रोक लगाइएको छैन ।

भारतसँगको सीमानाबाट मानिसहरूको आवागमनमा कडाइ गरिने भएको छ । अन्तरराष्ट्रिय सीमाना बन्द गरिए पनि अहिले दैनिक सयौंको संख्यामा आवागमन भइरहेको छ ।

अत्यावश्यक परेमा वीरगञ्ज नाकाबाट मापदण्ड पुर्‍याएर भित्रिन दिइने र अन्य नाकामा कडाइ गरिने प्रशासनले बताएको छ । निषेधाज्ञाको अवधिमा संक्रमितको कन्ट्रयाक्ट ट्रेसिङ र शंकास्पद क्षेत्रमा नमूना पीसीआर परीक्षण गरिने प्रशासनले बताएको छ ।

पीसीआर परीक्षणका लागि वीरगञ्ज महानगरपालिकाले सरोकारका निकायसँग सहजीकरण गर्ने भएको छ । महानगरले यसअघि नै नगर क्षेत्रमा ‘एक घर एक पीसीआर परीक्षण’ अभियान सञ्चालनको योजना बनाएकोमा केन्द्रीय विपद् व्यवस्थापन केन्द्रले स्वीकृति नदिँदा रोकिएको छ ।

विगत तीन दिनमा वीरगञ्ज र आसपासका क्षेत्रमा ४७ जना कोराना संक्रमित भेटिएका छन् भने २ जनाको ज्यान गएको छ । पछिल्लो समयमा भेटिएका संक्रमितमध्ये अधिकांशमा लक्षण देखिएको छ । उनीहरूमा निमोनिया, ज्वरो आउने, टाउको दुख्ने, पखालालगायतका लक्षण देखिएको नारायणी अस्पतालका प्रमुख डा मदन उपाध्यायले बताए ।

चार जनाको अवस्था गम्भीर रहेको नारायणी अस्थायी कोरोना अस्पतालले बताएको छ । यसअघि लक्षणविनाका संक्रमति देखिएकामा अहिले गम्भीर लक्षणसहितका बिरामी फेला परेपछि त्रास बढेको छ ।

शंकास्पद विरामीसँग सम्पर्कमा नआएका र ट्राभल हिस्ट्रीसमेत नभएकामा संक्रमण भेटिएपछि संक्रमण समुदायस्तरमै फैलिएको आशंका स्वास्थ्यकर्मीहरुले गरेका छन् ।

एक जना चिकित्सकसहितका स्वास्थ्यकर्मी र अस्पतालका सफाइकर्मीमा समेत संक्रमण भेटिएको छ । संक्रमणको त्रासका कारण वीरगञ्जका स्वास्थ्यकर्मीले आकस्मिकबाहेक सबै सेवा बन्द गरेका छन् ।