ओलीकै पहलमा नेकपा एमाले दर्ता भएको प्रचण्डको दावी
काठमाडौं,पार्टीभित्रको विवाद लम्बिँदै गइरहेका बेला सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीकै सक्रियता नेकपा एमाले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको दाबी गरेका छन् ।
पुष्पलाल स्मृति दिवसको अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा प्रचण्डले अध्यक्ष ओलीले नेकपा दर्तामा आफ्नो भूमिका नरहेको बताए पनि नेकपा ओलीकै पहलमा दर्ता भएको दावी गरे । पार्टीभित्र अहिले गहिरो संकट रहेको बताउँदै उनले भने, ‘पार्टी बैठक चलिरहेकै बेलामा अर्का अध्यक्षको सक्रियता र पहलमा नेकपा एमाले दर्ता भएको छ ।’
उनले अर्का अध्यक्ष केपी शर्मा ओलीलाई संकेत गर्दै पार्टी वैठक बस्न पनि ठूलै संघर्ष गर्नुपर्ने अवस्था आएको बताएका छन् । ‘पार्टीको बैठक बस्न पनि निकै ठूलो कसरत गर्नुपर्ने अवस्था आयो’, उनले थपे, ‘बैठक बसिहाले पनि त्यसको गरिमालाई ख्याल गर्न सकेनौं कि ?’ उनले कम्युनिष्ट पार्टी सामूहित नेतृत्वमा चल्नु पर्ने विचार व्यक्त गरेका छन् । अध्यक्ष प्रचण्डले नेकपामा सामुहिक नेतृत्व भनिए पनि त्यस्तो नभएको बताएका छन् । ‘सामूहिक नेतृत्व त भन्यो तर दुई वर्षसम्म केन्द्रीय समितिको बैठक राख्न सकेनौं’, उनले भने ।
यता यसअघि नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच दुई घण्टा वालुवाटारमा पार्टी विवादबारे छलफल भएको थियो । दुई अध्यक्षबीच छलफल भए पनि कुनै निचोड भने नआएको दुई अध्यक्ष निकट स्रोतले जानकारी दिएको छ ।