रकम लुटेको भनी नाटक गर्ने तीन पक्राउ
जनकपुरधाम ,धनुषाको यदुकोहास्थित टिभिएस सोरुममा कार्यरत एक कर्मचारीले अपरिचित व्यक्तिले पेस्तोतोल देखाएर रकम लुटेको नाटक गरेको रहस्य खुलेको छ।
कमला नगरपालिकाका २ का २० वर्षीय धीरज कुमार अधिकारीले दुई साथीसँग मिलेर लुटिएको नाटक गरी रकम बाँडफाँट गर्ने योजना बनाए थिए। तर प्रहरीले कर्मचारी अधिकारी, उनका दुई साथी सुजित मण्डल र छोटु झालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा लुटिएको नाटक गरेको रहस्य खुलेको हो।
जनकपुर उपमहानगर १६ घर भएका २१ वर्षीय झाको घरबाट लुटेको भनिएको ३ लाख ७६ हजार रुपैयाँसमेत आज बरामद भइसकेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रामेश्वर कार्कीले जानकारी दिए। माटोको भाँडोमा लुकाएर राखेको अवस्थामा झाको घरबाट रकम बरामद भएको उनको भनाइ छ।
मोटरसाइकलको सोरुमबाट जनकपुर बैंकमा राख्न ज१०प ९७ नम्बरको मोटरसाइकल लिएर जाने क्रममा जनकपुरकै जलाद पुल नजिकैबाट ३ लाख ७६ हजार रुपैयाँ अपरिचितले पेस्तोल देखाएर लुटेर भागेको कर्मचारी अधिकारीले प्रहरीलाई जानकारी गराएका थिए। लुटिएको योजना बनाएर रकम बाँड्ने रहस्य खुलेपछि कर्मचारी अधिकारी, झा र सहिदनगर नगरपालिकाका ७ का मण्डलमाथि कानुन बमोजिम कारबाही बढाएको डिएसपी कार्कीले जानकारी दिए।