आज थपिए १४७ संक्रमित, १५६ जना निको भएर घर फर्किए
काठमाडौँ ,नेपालमा पछिल्लो २४ घण्टामा थप १४७ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या १८ हजार २४१ पुगेको छ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या १२ हजार ८४० पुगेको छ । पछिल्लो २४ घण्टामा थप १५६ जना उपचारपछि डिस्चार्ज भएका छन् । ७०.३९ प्रतिशत संक्रमित निको भएका छन् ।
हालसम्म नेपालमा कोरोनाबाट ४३ जनाले ज्यान गुमाईसकेका छन् । आज एक जनाको मृत्यु भएको छ । यस्तै, मुलुकका ६ जिल्ला कोरोनामुक्त भएका छन् । प्रवक्ता डा. गौतमकाअनुसार भोजपुर, पाँचथर, रसुवा, संखुवासभा, मुस्ताङ र मनाङमा कोरोना संक्रमित भेटिएका छैनन् ।
मन्त्रालयका अनुसार क्वारेन्टाइनमा बस्नेको संख्या २० हजार ९८ छ । हाल मुलुकका २८ वटा प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको छ । हाम्रो स्वास्थ्य एप्लिकेशन डाउनलोड गर्नेको सङ्ख्या एक लाख ६१ हजार ५०० छ । त्यसमा सक्रिय प्रयोगकर्ता ८१ हजार १८० छन् । आज मात्रै १०० जनाले इन्ट्री गरेकामा आज कोही पनि रेड जोनमा नपरेको मन्त्रालयले जनाएको छ । मन्त्रालयको वेबसाइट हेर्ने र भाइबर ग्रुपमा जोडिनेको सङ्ख्या उल्लेख्य रहेको छ ।