कक्षा १२ को परीक्षा असोजको पहिलो साता

काठमाडौँ ,राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा असोजको पहिलो सातादेखि सञ्जालन गर्ने तयारी गरेको छ ।

बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालका अनुसार लकडाउन अन्त्य भएसँगै परीक्षा लिने तयारी थालिएको हो । ‘सरकारले भदौंबाट विद्यालय सञ्चालन गर्ने भनेपछि असोज पहिलो साता परीक्षा लिनेगरी योजना बनाइरहेका छौँ’, उनले भने, ‘चाँडै परीक्षा तालिका सार्वजनिक गर्नेछौं ।’

उनले कक्षा ११ को परीक्षा अब विद्यालयले नै लिने निर्णय गरिसकेको र त्यसका लागि कार्यविधि पनि पारित भइसकेको बताए । बोर्डले पारित गरेको कार्यविधिअनुसार कक्षा १२ को परीक्षा जुन तरिकाले ग्रेडिङ गरिएको छ सोहीअनुसार ग्रेडिङ गर्ने, कक्षा ११ को परीक्षा, प्रमाणीकरण एवं मूल्यांकन विद्यालयले नै गर्ने, पाठ्यक्रमअनुसारै प्रश्‍नपत्र निकाल्नुपर्नेछ ।