कृषि, स्वास्थ्य र रोजगारी, कोभिड १९ बिरुद्ध खबरदारी नाराका साथ गढवाको सातौं गाउँसभा सम्पन्न

गढवा,कृषि स्वास्थ्य र रोजगारी,कोभिड १९ बिरुद्धको खबरदारी भन्ने मुलनाराका साथ गत असार १० गते उद्घाटन भएको गढवा गाउँपालिकाको सातौ गाउँसभा बजेट तथा निति कार्यक्रम पारित गर्दै मंगलबार सम्पन्न भएको छ । गत असार १० का दिन निति तथा कार्यक्रम र बजेट प्रस्तुत भएको थियो ।

 

कोभिड १९ का कारण बिकास योजनाहरुका काम सम्पन्न भएपछि बन्दशत्र सुरु गरि बृहत छलफलबाट तयार भएका योजनाहरु र विकास बजेट साउन ६ गतेको सभाबाट पारित गरिएको गाउँपालिकाका अध्यक्ष सहजराम यादवले जानकारी दिए ।  जस अनुसार गढवा गाउँपालिकाको आ.ब.२०७७/०७८ का लागि कुल ५२ करोड १८ लाख २४ हजार बजेट रहेको छ ।

 

जसमध्ये वडागत योजनाहरु तर्फ ४ करोड ५ लाख ४ हजार ८ सय ३७, विकासका अधुरा योजनाहरु तर्फ १३ करोड ६६ लाख ६३ हजार ८ सय २४, चालु तथा प्रशासनिक खर्चतर्फ ९ करोड २९ लाख ७५ हजार, प्रकोप ब्यवस्थापनमा २ करोड, संघ प्रदेश र लापाका विकास योजनाहरु सम्पन्न गर्नका लागि समपुरक कोष ३ करोड ४९ लाख बजेट बिनियोजन भएको गाउँपालिकाका अध्यक्ष सहजराम यादवले जानकारी दिए ।

यसैगरी जेष्ठ नागरिक तर्फ १० लाख महिला तथा वालवालिका तर्फ २० लाख, मधेसी मुस्लिम, आदिवासी जनजाति तर्फ १० लाख, अपांगता तर्फ १० लाख, शिक्षामा ९० लाख, कृषि तथा पशुविकास तर्फ ७०/७० लाख, स्वास्थ्यतर्फ ५० लाख र न्यायिक समिति तर्फ ५० लाख बजेट बिनियाेजन भएको उपाध्यक्ष शान्ती चौधरीले जानकारी दिइन् । यसैगरी गाउँपालिका स्तरिय योजनाहरुका लागि ६ करोड ९१ लाख ५८ हजार, लापा कार्यक्रम तर्फ २ करोड बजेट बिनियोजन भएको छ ।

यसरी चालु तथा प्रशासनिक खर्चतर्फ ९ करोड २९ लाख ७५ हजार, ससर्त खर्च तर्फ २२ करोड २० लाख ७५ हजार, संघ प्रदेश बिशेष खर्च तर्फ १ करोड १० लाख, पुँजीगत खर्च १४ करोड ५७ लाख ९९ हजार, समपुरक विकास कोष ३ करोड, कोरोना रोकथाम नियन्त्रणमा २ करोड र अधुरा योजनाहरु सम्पन्न गर्न २ करोड गरी कुल ५२ करोड १८ लाख २४ हजारको बजेट सातौं गाउँसभामा प्रस्तावित गरिएको थियो ।

पूर्वाधारहरुको विकास सहित कोभिड १९ रोकथाम नियन्त्रण तथा बिपद् ब्यवस्थापन, कृषि आधुनिकीकरण र कृषि अनुदान, सर्पदंश उपचार केन्द्रलाई निरन्तरता तथा थप भौतिक निर्माण, बेरोजगारलाई रोजगारको अवसर प्रदान गर्ने, स्वास्थ्य सेवाको पहुँच बृद्धि गर्ने, गुणस्तरिय शिक्षा, पशु स्वास्थ्य र पशुपालन प्रबर्धन, वातावरण संरक्षण र सौन्दर्य प्रवर्धन, खानेपानीको पहुँच बृद्धि, सामाजिक न्याय र लैगिंक मूलप्रवाहिकरण बजेटका मुख्य उद्देश्य रहेको गाउँपालिकाले जनाएको छ