सुदूरपश्चिममा थप २७ जनामा कोरोना पुष्टि

धनगढी, धनगढी प्रयोगशालामा भएको परीक्षणमा सुदूरपश्चिम प्रदेशमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या चार हजार एक सय २२ पुगेको छ।

धनगढी प्रयोगशालामा पछिल्लो २४ घण्टामा एक सय ८८ जनाको परीक्षण गरिएकामा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। धनगढीस्थित सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठका अनुसार आज कैलालीका तीन, कञ्चनपुरका २० जना, बझाङका चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

कैलालीको गोदावरी नगरपालिका–११ का दुई महिला र एक पुरुष, कञ्चनपुरको वेदकोट नगरपालिकाका सात पुरुष र चार महिला, शुक्लाफाँटा नगरपालिकाका पाँच पुरुष र एक महिला र लालझाँडी गाउँपालिकाको तीन पुरुषमा कोरोना संक्रण पुष्टि भएको छ। श्रेष्ठका अनुसार बझाङको जयपृथ्वी नगरपालिका–३ का दुई महिला तथा एक पुरुष र छब्बीसपाथीभरा गाउँपालिका–६ का एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।

संक्रमण पुष्टि भएका मध्ये दुई हजार एक सय २९ जना हिजोसम्म डिस्चार्ज भइसकेको सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले बताए।