साउन ८ गतेदेखि सार्वजनिक यातायात सञ्चालन हुने

काठमाडौँ ,यातायात व्यवसायीले साउन ८ गतेदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने घोषणा गरेका छन् ।

मंगलबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुरसंघले संयुक्त पत्रकार सम्मेलन गरेर बिहीबारदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने घोषणा गरेका हुन् ।

सरकारले असार २६ गतेदेखि नै सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेपनि व्यवसायीले भने विभिन्‍न माग राख्दै यातायात सञ्चालन गर्न अस्विकार गरेका थिए ।

तर, सोमबार यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी महाशाखा, नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघबीचको वार्तापछि सवारीसाधन सञ्चालन गर्ने सहमति भएको थियो ।