सप्तकोसीको बहावले खतराको तह पार गर्यो, ब्यारेजका ४८ ढोका खोलिए
काठमाडौ, सप्तकोसी नदीमा पानीको सतहले खतराको तह पार गरेको छ। पानीको बहाव उच्च भएपछि कोसी ब्यारेजका ५६ मध्ये ४८ वटा ढोका खोलिएका छन्।

सप्तकोसी व्यारेज : फाइल तस्वीर
राति १ बजे २ लाख ९१ हजार क्यूसेक पानी प्रतिसेकेन्ड रहेकोमा बिहान ६ बजे कोसी ब्यारेज भएर ३ लाख ३४ हजार ८० क्युसेक रहेकाे सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले जानकारी दिए।
कोसीको बहावले खतराको तह पार गरेपछि स्थानीय प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। उनीहरुलाई नदी किनाराकाे बस्तिमा नबस्न सूचित गरिएकाे पाेखरेलले बताए।
जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले सप्तकोशीमा बहाव बढ्दो क्रममा रहेको जनाएको छ । साथै सुनसरी र सप्तरी जिल्लाका तटीय क्षेत्रमा बुधबार विहानसम्म उच्च सतर्कतासाथ रहन वा सुरक्षित स्थानमा जान सूचित गरेको छ । स्थानीय प्रशासनले जोखिम क्षेत्रका बासिन्दालाई सतर्क रहन सूचना प्रवाह गरेको छ ।