खुमलटारको निष्कर्ष : जति घुर्की लगाए पनि ओलीले एक पद छाड्नै पर्छ
काठमाडौं, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार पार्टीभित्रको विवादको विषयमा पूर्वमाओवादीसम्वद्ध स्थायी कमिटी सदस्यहरुसँग छलफल गरेका छन् । आज (सोमबार) अध्यक्ष प्रचण्डले आफ्नै निवास खुमलटारमा आफू पक्षीय स्थायी कमिटी सदस्यहरुसँग पार्टीभित्रको विवाद समाधानका विषयमा छलफल गरेका हुन् ।
आज बिहान अध्यक्ष प्रचण्डले पूर्व माओवादी केन्द्रतर्फका स्थायी कमिटी सदस्यहरुसँग पार्टी विवाद समाधानका विषयमा झण्डै तीन घण्टा छलफल गरेका छन् । छलफललो पार्टीभित्रको विवाद हल गर्न प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली एक पद छाड्नै पर्ने निष्कर्ष निकालेको छ ।
‘पार्टी अध्यक्ष र प्रधानमन्त्री समेत भएको नाताले उहाँले नै निकास दिनुपर्छ र पार्टी एकतालाई पनि बचाउनु पर्छ । त्यसका लागि ओलीले अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद छोड्नु पर्छ भन्ने विषयमा नेताहरु एकमत देखिनुको भएको छ’, छलफलमा सहभागी एक नेताले भने, ‘ओलीजी प्रतिपक्ष जस्तो बन्नु भएन, घुर्की लगाउनु भएन ।
बैठक नराख्ने र राखे पनि बीचमै छोड्ने त कहिले महाधिवेशनको कुरा ल्याएर समस्या समाधान नभई पन्छाउने प्रयासमा लाग्नु भएको छ । यो प्रवृत्तिले निकास आउँदैन । त्यसैले उहाँले नै निकास दिन जरुरी छ ।’
नेकपाको स्थायी समिति बैठक भोलि मंगलबार बस्दैछ । बैठकअघि रणनीति बनाउन प्रचण्ड पक्षका नेताहरुबीच छलफल भएको हो । पार्टी फुट्नु हुँदैन । पार्टी र सरकार दुवै चल्नुपर्छ । त्यसका लागि विधानको पालनमा जोड दिनुपर्छ भन्ने विषयमा विभिन्न कोणबाट छलफल भएको स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले जानकारी दिए ।
बैठकमा नेताहरुले पनि अहिले ‘फाइट टु फिनिस’ भनेर जाँदा पार्टी नै फुट्न सक्ने र पदकै लागि पार्टी फुटाएको आरोप लाग्नसक्ने भन्दै स्थायी कमिटी बैठकलाई नियमित एजेण्डामा फर्काएर सेफल्याण्डिङ गर्न सुझाव दिएका छन् । जवाफमा प्रचण्डले पनि ओलीसँग एकता, संघर्ष र एकताकै आधारमा अगाडि बढ्ने बताएका थिए ।