दाङ प्रहरीको सफलता, चोरीका मोटरसाईकलसहित गिरोह नै सार्वजनिक

दाङ, दाङ प्रहरीलाई ऐतिहासिक ठुलाे सफलता हासिल गरेकाे छ । जिल्लामा यति ठुलाे संख्यामा पहिलाे पटक माेटरसाइकल चाेरका गिराेहहरू पक्राउ गर्न दाङ प्रहरी सफल भएकाे हाे । दाङमा चोरीका मोटरसाइकलसहित १४ जना पक्राउ गर्न सफल भएकाे याे पहिलाे पटक हने । जिल्ला प्रहरी कार्यालय दाङले जिल्लाका विभिन्न ठाउँबाट चोरी गरेका १० वटा मोटरसाइकल सहित १४ जना पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख तथा एसपी गणेश चन्दका अनुसार पक्राउ पर्नेमा घोराही उपमहानगरपालिकाका ७ जना, लमही नगरपालिकाका ३ जना र राजपुर गाउँपालिकाका ४ जना रहेका छन् ।

जस अनुसार घोराही उपमहानगरपालिका वडा नम्बर १४ का वर्ष २३ का समिर सुनार, वर्ष २१ का सुवास सार्की, वडा नम्बर १६ का वर्ष ३५ का केन्द्रबहादुर डाँगी, १७ का वर्ष २३ का निरज योगी र १३ का वर्ष १८ का संजय चौधरी रहेका छन् । त्यसैगरी लमही नगरपालिका वडा नम्बर ७ का वर्ष २५ का प्रकाश चौधरी र वर्ष २५ कै पाल्टुराम चौधरी, वडा नम्बर ७ कै वर्ष २७ का हेमन्त गिरी रहेका छन् ।

राजपुर गाउँपालिका वडा नम्बर २ का वर्ष १९ का आयोज चौधरी, वर्ष २२ का प्रियतम चौधरी, वर्ष २७ का रविप्रताप यादब र वर्ष २७ कै राजकुमार यादव रहेका छन् । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको टोलीले उनीहरुलाई ९ वटा नम्बर प्लेट सहित र एउटा नम्बर प्लेट नभएको मोटरसाइकल सहित पक्राउ गरिएको प्रहरी प्रमुख चन्दले जानकारी दिए । यस्तो गिरोह अझै हुन सक्ने भन्दै उनले थपको खोजी कार्य भइरहेको बताए । अहिले पक्राउ परेकाहरुलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ ।

नक्कली ब्लुबुक बनाउने यातायात कार्यालयका कर्मचारी पक्राउ

प्रहरीले नक्कली ब्लुबुक बनाउने यातायात ब्यवस्था कार्यालय तुलसीपुर दाङका एक जना कार्यालय सहयोगीलाई पनि पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ का वर्ष ४८ का कृष्णप्रसाद खनाल रहेका छन् । उनी सँगै सकारी छाप कृर्ते गरी नक्कली ब्लुबुक बनाएको आरोपमा वडा नम्बर ६ का वर्ष २१ का अब्दुल हफिस सिद्धिकी, ५ का चक्रबहादुर वली, ६ का वर्ष ३७ का जिवन पोख्रेल र सोही वडाका वर्ष ३२ का विष्णु घिमिरे पक्राउ परेको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट एउटा लु ४६ प ३५४१ नम्बर सवारी दर्ता किताब, प्रदेश सरकार प्रदेश ५ भौतिक पूर्वाधार मन्त्रालय यातायात ब्यवस्था कार्यालय दाङ लेखेको छाप एक थान, शाखा अधिकृतको छाप एक थान, विभिन्न ब्यक्तिहरुको नागरिकताको प्रमाण पत्र, सवारी चालक अनुमति पत्र, पुराना ब्लुबुक, निरोगिताको दस्तखत र छाप हानेको कागजहरु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख चन्दले बताए । उनीहरुमाथि पनि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रविधिको दुरुपयोग गरी आत्महत्या गर्नेक्रमले चुनौती थप्यो

दाङमा पछिल्लो समय प्रविधिको दुरुपयोग गरी आत्महत्या गर्ने क्रम सुरु भएको भन्दै यसले भविष्यमा चुनौती थप्ने देखिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख गणेश चन्दले बताए । ‘प्रविधिको दुरुपयोग गरी फेसबुक लाइभ गरेर आत्महत्या गर्ने घटनाहरु देखिएको छ’, आइतबार प्रत्रकार सम्मेलनमा उनले भने ‘यसले भविष्यमा थप चुनौती थप्ने देखिन्छ ।’ दाङको तुलसीपुरमा असार १८ गते राती एलिसा खत्री (गौतम)ले फेसबुक लाइभ गरी आत्महत्या गरेकी थिइन ।

आत्महत्या गरेको फेसबुक लाइभ भएको खबर प्रहरीले प्राप्त गरेपनि समय मै ठाउँ पत्ता नलगाउँदा बचाउन सकने । प्रहरी प्रमुख चन्दले यस्ता घटनाबाट बचाउन आइटी क्षेत्रलाई अझ सशक्त बनाउने बताए । उनले जिल्लामा अन्य अपराधका घटना घटेको भएपनि आत्महत्याको घटनामा भने कमी हुन नसकेको जानकारी गराए । गत आर्थिक वर्ष २०७५/०७६ मा ९ सय ५७ वटा अपराधका मुद्दा दर्ता भएकोमा २०७६/०७७ मा घटेर ८३५ वटा मुद्दा दर्ता भएपनि आत्महत्याका घटना भने बढेको देखिएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङमा आर्थिक वर्ष २०७५/०७६ मा २ सय ९ वटा आत्महत्याका घटना घटेकोमा २०७६/०७७ मा बढेर २ सय २२ वटा घटना घटेका छन् । जसमा आर्थिक वर्ष २०७६/०७७ मा १ सय ७३ वटा झुण्डिएर र विष सेवन गरेर ४९ वटा आत्महत्याका घटना घटेका छन् । जसमा चैत ११ गते लकडाउन भएयता मात्र दाङमा ११ वटा आत्महत्याका घटना घटेका छन् ।

प्रहरी प्रमुख चन्दका अनुसार आत्महत्या गर्नुमा गरीबी, दिर्घरोगी, मानसिक रोगी, पारिवारीक कलह, आशिक्षा, सामाजिक सञ्जालको गलत प्रयोग, प्रेममा असफलता र असिमित महत्वाकांक्षा देखिएको छ । उनले यस्ता घटनामा प्रहरीले समुदाय स्तरमा थप सहकार्य गर्दै निरुत्साहित गर्न तर्फ लागिरहेको बताए ।

घटे जबरजस्ती करणीका घटना

दाङमा जबरजस्ती करणीका घटना घटेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार जिल्लामा आर्थिक वर्ष २०७५/७६ भन्दा २०७६/७७मा ३० जबरजस्ती करणीका घटना घटेका छन् । जस अनुसार आर्थिक वर्ष २०७५/७६ मा ६२ वटा जबरजस्ती करणीका घटना घटेका थिए । वितेको आर्थिक वर्षमा भने ३० वटामा मात्र घटना जबरजस्तीका घटेको जिप्रका दाङका प्रमुख चन्दले बताए ।

उनका अनुसार जबरजस्ती करणीका घटना घट्नुमा देशमा लकडाउन (बन्दाबन्दी) हुनुलाई मानिएको छ । त्यस्तै नक्कली जबरजस्ती करणीका मद्दा दिने परिपार्टीलाइ क्रशचेक गरी निरुत्साहित गरिएकोले घटनामा कमी भएको प्रमुख चन्दको भनाई छ ।