फुर्तिको परिणाम

मैले पहिलो चोटी बुधबारे बजारमा देखेको हो उसलाई । गाँउमा दशैंको रौनक सुरु भई सकेको थियो । बर्षौं गाँउ बाहिर बसेकाहरु दशैं मनाउन सहरबाट गाँउ फर्कि सकेका थिए । त्यसैले पनि बजार निकै भिडभाड र भरिभराउ थियो । नयाँ र सुकिला अनुहारहरु धेरै थिए । त्यस मध्ये चिटिक्क कोरेको कपाल माथि कालो चस्मा, दशैंलाई उद्याएर रौं नै काट्ने बनाएको खुकुरीको जस्तो आइरनको धार भएको सेतो सर्ट र निलो पेन्ट लगाएको, हातमा लामो सूर्य चुरोट बोकेको अरु सबै भन्दा फरक थियो उसको हुलिया । उ उभिएको ठाँउ भन्दा लगभग ४÷५ मिटर पर सम्म नै सुगन्धित अत्तरको बास्ना आउथ्यो । उसको हाउभाउ र फाँईफुर्ती देख्दा लाग्थ्यो उ सहरमा लाखौं रुपयाँको जागिर खान्छ, करोडौं रुपयाँको व्यापार व्यावसाय गर्छ र हजारौं बौद्धिक प्रतिष्ठित व्यक्तिहरुको संगतमा बस्छ ।

उसको लुवाई, खुवाई, हिडाई, बोलिचाली र फाँईफुर्ति देखे पछि नै हो मलाई सहर हेर्ने रहर पलाएको । तर विडम्वना हिमाली जिल्लाको विकट पहाडी गाँउको गरिव परिवारमा जन्मिएर भर्खर हुर्कदैं गरेको एउटा अबोध बालकको सहर हेर्ने रहर सहजै कहाँ पुरा हुन्छर । मेरो बाल मस्तिष्कमा उ झैं सहर जाने, ठुलो जागिर खाएर धेरै पैसा कमाउने अनि बास्ना आउने आइरन गरेका नयाँ लुगा लगाएर लामो सूर्य चुरोटको धुवाँ फुस्स–फुस्स मुखबाट उडाउँदैं सबैलाई गफ र फुर्ति लगाउने उत्कट इच्छा पलाएर झाँगिदै गयो ।

बर्ष वित्दैं गए मेरो बाल मस्तिष्कमा परेको छाप मेटिनु भन्दा झन गाढा बनेर छिपिदैं गयो । हरेक वर्षका दशैंहरुमा उसको फुर्ति र रवैया उस्तैं देखिन्थ्यो । बजार जाँदा, गाँउघर डुल्दा होस् वा घर बस्दा सदैव नयाँ चिटिक्क परेका लुगा, कपालमा चमेलीको तेल, कालो चस्मा र हातमा सूर्य चुरोट टुट्दैन थियो । दशैंमा घर आउनेहरु मध्ये मोवाईल बोक्ने उ मात्र हुन्थ्यो । त्यसैले मोवाइल हेर्न कै लागि पनि गाँउका मान्छेहरु उसको वरिपरि झुम्मिन्थे । उसको हाउभाउ र फाँईफुर्ति देख्दा म मात्र हैन सारा गाँउलेहरु नै चकित परेका थिए ।

समय वित्न कत्ति पनि नलाग्ने रहेछ । एक दिन–दुई दिन, एक वर्ष–दुई वर्ष गर्दा गर्दै मेरो सहर हेर्ने रहर पुरा भएको पनि एक दशक विति सकेछ । यो एक दशकका दुःख, कष्ट र अभावले मलाई सहर भन्दा हजारौं गुणा राम्रो र सहज त गाँउ नै रहेछ भन्ने लागि सकेको छ । सहरका दुःख, कष्ट र अभावलाई मनमा खेलाउँदा खेलाउँदै मलाई उहि फुर्तिवालको सम्झना आयो । यस्तो कष्टसाध्य सहरमा बसेर पनि कसरी उसले त्यति विघ्न राम रौस र फुर्तिफार्ति गर्न सकेको होला ?, अहिले उसको हाउभाउ बढेर अझ कति माथि पुग्यो होला ?, यो सहरमा उसको कतिवटा भव्य महल र बङ्गाला होलान् ?, महङ्गो आलिसन कार होला ?, छोरा छोरी महङ्गा र सुविधा सम्पन्न स्कुल कलेजमा पढ्छन होला ? उनिहरुको पनि बाबुको जस्तै फुर्ति र खर्च होला ? जस्ता अनेकौं तर्कना मनमा खेलि रहन्थे ।

लगडाउनले सहरमा थुनिएका अतिअशक्त, दुःखी, गरिव र विपन्नलाई कोरोना कहरका विचमा राहात बाँड्ने अभियान चल्यो । राहात लिनेको लाइनमा एक जना सुकिला लुगा लगाएको मान्छे पनि लामबद्ध देखियो । त्यो दृष्यले मलाई अचानक २०÷२५ वर्ष पहिलाको विहिबारे बजारको याद दिलायो । मनमा अनौठो झस्का पस्यो । राहात लिनेको नाम टिप्दैं, राहात सामाग्री दिदैं गर्दा उक्त मान्छेले आफ्नो नाम भन्न अन्कनायो । टोलि प्रमुखले छोडि दिनुस् उहाँको नाम पछि म टिपौंला भन्नु भयो । त्यस पछि राहात दिदै. मैले पुलुक्क उसको अनुहारमा हेरें । पुरानो मास्क, धुलैधुलो भएको कालो चस्मा र टोपीले अनुहार पुरै छोपिएको थियो । मान्छे ठम्याउन गर्हो भयो ।

त्यो क्या त फुर्तिवाल ! राहात वितरण अभियान सकिए पछि साथिहरुबाट कुरा सुरु भयो । म अल्मलमा परें । कुरा हुदै जाँदा त्यो अघि नाम टिपाउन हिच्किचाउने मान्छे त उहि मेरो बाल्यकाल देखि दिमागमा गाढा छाप बनेर बसेको मान्छे पो रहेछ । साथिहरुका कुरा सुनेपछि सहरको नाली र फोहोर भन्दा बढि गन्हाउने दुर्गन्धित लाग्यो त्यो मान्छे छि । अझ थप कुरा जानकारी भयो । उ त सहरमा अरुको पसिना र परिश्रममा पो मोज गरेर बाँचेको रहेछ । सहरमा आफ्नो पेरिफेरी र सम्पर्कमा भएका सबै सित अनेक बाहानामा लाखौ.रुपयाँ सापटि मागेर नचाँहिदो फुर्ति लगाउँदो रहेछ । जोसँग पैसा जुन बाहानामा मागेर लगे पनि फिर्ता गर्ने÷तिर्ने चलन नै रहेनछ । बसेको घरमा पनि कोठा भाडा नतिरेका कारण छिटो छिटो लात्तले हानेको कुकुर जस्तो डेरा सरिरहनु पर्ने रहेछ ।

कुनै अफिसमा जागिर नै नभाई अफिस हिडेको भनेर सुकिला मुकिला कपडा र टाई लगाएर हिड्दो रहेछ । आफन्त तथा अन्य मान्छेले चिन्छन की भनेर नाक, मुख, आँखा र अनुहार पुरै छोपेर हिड्ने रहेछ । गाँउमा गएको बेला दुई चार किलो मासु समेत पैसा नतिरी खान भ्याई सकेको रहेछ । कोरोनाका डरले सबैले मास्क लगाएका कारण उसलाई थप सजिलो भएको रहेछ । हिजो गाँउमा अरु कसैले मोवाइल नदेख्दै मोवाइल बोक्ने मान्छे आज सारा दुःखी, गरिवको पनि गोजिमा मोवाइल हुदाँ उ भने मोवाइल सुइजअफ गरेर राख्दो रहेछ । सहरमा चिन्ने जतिले उसलाई फुर्तिवाल भन्दा रहेछन् । फुर्तिवालको कथा सुने पछि मेरो बाल मस्तिष्कमा परेको सहरको अमिट छाप पनि मेटिएर गयो ।

नेचा, सोलुखुम्बु