बाँके प्रहरीको आयोजनामा रक्तदान कार्यक्रम, करिब १ सयले दिए रगत

नेपालगन्ज, बाँके सामुदायिक प्रहरी सेवा केन्द्र र जिल्ला प्रहरी कार्यालय बाँकेको संयुक्त आयोजनामा शनिबार नेपालगन्जमा रक्तदान कार्यक्रम गरिएको छ । नेपालगन्जको गणेशमानचोकस्थित प्रहरीको लागु औषधविरुद्ध निशुल्क परामर्श केन्द्रमा रक्तदान कार्यक्रम गरिएकाे हाे ।

कार्यक्रममा नेपाल प्रहरी र ट्राफिक प्रहरीका सिनियर र जुनियर अधिकृत लगायत जवानहरुको सहभागिता रहेको थियो । सो कार्यक्रममा प्रहरीका ९८ जना र ३ जना सर्वसाधारण गरी जम्मा १ सय १ जनाले रक्तदान गरेकाे बताइएकाे छ ।

सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष शशी स्वाँरको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ, बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर राना, भैरव प्रसाद गणका प्रमुख कर्नेल नकुल थापा, विभिन्न प्रहरी इकाईका प्रमुखहरु र सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।