दाङको बंगलाचुली गाउँपालिका कोरोना संक्रमण मुक्त

 दाङ , दाङकाे एक गाउँपालिका जिल्लाकै पहिलाे काेराेना संक्रमणमुक्त गाउँपालिका घाेषणा गरिएकाे छ । जिल्लाको बंगलाचुली गाउँपालिकामा पहिलो चरणको कोरोना नियन्त्रण तथा रोकथामका लागि गरिएका व्यवस्थापन कार्यले हाललाई विश्राम पाएको छ । बंगलाचुली गाउँपालिका कोरोना संक्रमितका हिसावले जिल्लामै दोस्रो स्थानमा रहेको थियो । यस गाउँपालिकामा १ सय ६२ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो । जसमा दुई जना अन्तर जिल्लाका रहेको र उनीहरुलाई आफ्नो जिल्ला प्युठानमा माण्डवी गाउँपालिकामा पठाईएको थियो ।

बाँकी संक्रमित मध्ये १४ जना झुलिडाँडा आईसोलेसनबाट ८७ जना, पद्ममोदय आईसोलेसनबाट र ५८ जना कोरोना अस्पताल वेलझुण्डीबाट कोरोना जितेर घर फर्कि सकेका छन् भने एक जना कोरोना संक्रमित वेलझुण्डीमा उपचाररत रहेका छन् । बंगलाचुली गाउँपालिकाले १५ सय ३४ जनाको पिसीआर परिक्षणका लागि स्वाब संकलन गरी सबैंको रिपोर्ट समेत आई सकेको छ । जसमा १ सय ६२ जनामा कोरोना पोजेटिभ देखिएको थियो ।

बंगलाचुली गाउँपालिकामा भारतबाट फर्केका १४ सय बढी बंगलाचुलीवासीको कोरोना परिक्षण गरीएको थियो । साथै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी, जनप्रतिनिधी र संक्रमितहरुको संपर्कमा आएका स्थानियहरुको कोरोना परिक्षण गरिएको बंगलाचुली गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भक्त बहादुर जिसीले जानकारी दिए । हाल बंगलाचुली गाउँपालिकामा रहेका सम्पूर्ण क्वारेन्टाईन तथा आईसोलेसनहरु खाली रहेको उनले बताए ।

स्वास्थ्य शाखा प्रमुख जिसीका अनुसार बंगलाचुली गाउँपालिका वडा नं.९४ को झुलिडाँडामा रहेको आईसोलेसनलाई आपतकालिन प्रयोजनका लागि तयारी अवस्थामा राखिएको छ । नेपाल सरकारले जारी गरेको स्वाव संकलन निर्देशिका अनुसार अहिलेलाई लक्षण विहिनहरुको स्वाव संकलन कार्य नगरिएको उनले बताए।

यसैबीच बंगलाचुली गाउँपालिकाको व्यवस्थापनमा घोराहीको भरतपुरमा रहेको पद्ममोदय पव्लिक नमुना माध्यामिक विद्यालय भवनमा संचालन गरिएको जिल्ला स्तरीय आईसोलेसन बन्द गरिएको छ । बंगलाचुली गाउँपालिकामा कोरोना संक्रमितहरुको संख्या शुन्य भएपछि आईसोलेसन बन्द गरिएको बंगलाचुली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेव बहादुर वलीले जानकारी दिए ।

बंगलाचुली गाउँपालिकाले एक औपचारीक कार्यक्रमको आयोजना गरी आईसोलेसन स्थापना गर्न दिने पद्ममोदय पव्लिक नमुना माध्यामिक विद्यालय परिवारलाई कदर पत्र सहित उच्च सम्मान प्रकट गरेको छ । बंगलाचुली गाउँपालिका अध्यक्ष भक्त बहादुर वालीको अध्यक्षतामा एक कार्यक्रमको आयोजना गरी कदर पत्र सहित उच्च सम्मान प्रकट गरीएको हो ।

सो अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवकुमार आचार्य र प्राचार्य रामप्रसाद जैसीलाई बंगलाचुली गाउँपालिका अध्यक्ष भक्तबहादुर वली, उपाध्यक्ष यमुना थापामगर र प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर वलीले संयुक्तरुपमा कदर पत्र हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा आईसोलेसन स्थापना गर्न सहजीकरण गर्ने नेपाल कम्युनिष्ट पार्टी नेकपाका जिल्ला सचिव एवं बंगलाचुलीवासी शुवास पुन, बंगलाचुली गाउँपालिकाका कर्मचारी, स्वास्थ्यकर्मी लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण बंगलाचुली गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भक्तबहादुर जिसीले गरेका थिए ।