बर्दियामा थपिए १० जना कोरोना संक्रमित
बर्दिया, जिल्लामा आज फेरि १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा यो पुष्टि भएको हो।
ठाकुरबाबा नगरपालिका वडा नम्बर ६ र ८ का २ जना, मधुवन नगरपालिका वडा नं १, २, ५ र ९ का गरी ४ जना थपिएका हुन्। यस्तै राजापुर नगरपालिका वडा नं ६ र ८ का २ जना तथा गेरुवा गाउँपालिकाको वडा नं ४ र ५ का २ जनामा समेत आज कोरोना पुष्टि भएको छ। योसँगै बर्दियामा कोरोना संक्रमितको संख्या २ सय १० पुगेको छ। संक्रमितलाई सम्बन्धित पालिकामा तयार पारिएका आइसोलेसन कक्षमा उपचार गरिँदै छ।
१ सय ८७ जना निको भए जिल्लामा कोरोना संक्रमण पुष्टि भएका मध्ये १ सय ८७ जना निको भएर डिस्चार्ज भइसकेका छन्। बर्दियाका जनस्वास्थ्य निरीक्षक कृष्ण गोपाल चौधरीका अनुसार हालसम्ममा डिस्चार्ज हुनेमा २१ जना महिला र बाँकी पुरुष छन्। अन्यको भने उपचार चलिरहेको छ।
जिल्लामा ३ हजार ९ सय ५७ जनाको पिसिआर जाँच गरिएको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ। अहिले क्वारेन्टाइनमा बस्नेको संख्यासमेत घट्दै गएपछि धेरै क्वारेन्टाइनहरु खाली भएका छन्। केही स्थानीय तहहरुले क्वारेन्टाइन संख्यासमेत घटाएका छन्। यस्तै ठाकुरबाबा नगरपालिका र गुलरिया नगरपालिका लगायत स्थानीय तहले महिलाहरूका लागि छुट्टै आइसोलेसन कक्ष निर्माण गरेका छन्।