यी हुन् कोहलपुरका भुमाफियाका डन, जसका सरकारी जमिनमा छन् टोपी खस्ने भवन
कोहलपुर, बाँकेमा पछिल्लो समय भुमाफियाहरुको जालोको पर्दाफास भएको छ । केहिदिन यता कोहलपुर नगरपालिका ४ किरननालाको जमिनको पर्दा उघारियसँगै भुमाफियाहरुको पर्दाफास भएको हो ।
कोहलपुर बजार क्षेत्रकै धेरैजसो जमिन सरकारी रहेको छ तर उक्त जमिनमा स्थानीयदेखि संघीय सरकारका जनप्रतिनिधीले समेत रजाईं गर्दै आएको रहस्य खुलेको छ । यहाँको सरकारी जमिनमा प्राय भुमाफिायाका डनहरुको रजाई चलेको छ । अझ त जनताबाट निर्वाचित भएका जनप्रतिनिधीले नै २५ –३० वर्षदेखि त्यस्ता सरकारी जग्गा भोगचलन गर्दै आएका छन् । उनिहरुले सरकारी जग्गामा टोपी खस्ने महल समेत ठढयाई सकेका छन् ।
कतिपय जमिनमा अव्यवस्थित बसोबास छ भने कतिपयमा अस्थायी लालपुर्जा पाएर जमिन भोगचलनमा आएको छ । कोहलपुर क्षेत्रमा ४० प्रतिशत जमिनमात्रै नम्बरी भोगचलन भईरहेको देखिन्छ । तर, कोहलपुर नगरपालिकासँग यसको यकिन विवरण भने छैन । यतिबेला सरकारको बाँकेस्थित राज्य संयन्त्र सुकम्बासीका घर टहरा भत्काउँदै सरकारी जमिनको संरक्षणमा जुटेको छ । यस्तो अवस्थामा बाँकेको कोहलपुर क्षेत्रका जनप्रतिनिधीले सरकारी जमिन कब्जामा लिइ ठूला–ठूला महल खडा गरेको खुलेको छ ।
विशेषगरी कोहलपुर नगरपालिकाका क्षेत्रमा यस्तो काम भएको छ । कोहलपुर नगरपालिका भित्र सार्वजनिक जग्गामा दलका नेता र कोेहलपुर नगरपाकिलाका मेयर समेतले घर निर्माण गरेका छन् । आफ्नो नाममा नम्बरी जग्गा हुँदाहुदैँ पनि उनीहरूले राजनीतिक पहुँच र पदको दुरूपयोग गर्दै सरकारी जमिन कब्जामा लिइ घर बनाएको स्थानीय बताउँछन् ।
यि हुन सरकारी जग्गामा महल ठड्याउने डन नेताहरु
नेकपा नेता एवम् संविधानसभा सदस्य देवराज भारको घर नै सार्वजनिक जग्गामा रहेको खुलेको छ । भारको कोहलपुर नगरपालिका वडा नम्बर १० मा रहेको २ कठ्ठा बढी क्षेत्रफलमा ऐलानी जग्गामा २ तले पक्की घर छ । ऐलानी जग्गामा घर रहेपनि भारको नाममा कोहलपुर नगर क्षेत्रमा नम्बरी जग्गा धेरै भएको उनकै पारिवारिक स्रोत बताउँछन् । उनको पोखरामा रिसोर्ट समेत सञ्चालमा रहेको खुलेको छ । भार दोस्रो संविधानसभाका समयमा बाँके क्षेत्र नम्बर–१ बाट संविधानसभा सदस्य थिए ।
संबिधान सभा सदस्य भार मात्रै होईन पुर्व उपसभामुख पूर्णाकुमारी सुवेदीले र कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले समेत सार्वजनिक जग्गामा घर निर्माण गरेका छन् । कोहलपुर नगरपालिका वडा नम्बर १० को कोहलपुर नेपालगन्ज सडक खण्डमा मेयर रावतको ३ तले घर छ । रावत परिवारको कोहपुर ८ पिपरीमा १ बिगाह बढि जमिन भएको खुलेको छ । पुर्व उपसभामुख सुवेदीको कोहलपुर बजारका साथै पुर्वपश्चिम राजमार्गको कोहलपुर बासपर्क नजिक उत्तरी क्षेत्रमा पनि सरकारी जमिनमा एउटा घर भएको खुलेको छ ।
नेकपाका प्रदेश कमिटी सदस्य एवम् अखिल क्रन्तिकारीका पुर्व केन्द्रीय अध्यक्ष नरेन्द्र न्यौपानेको २ घर सार्वजनिक जग्गामै बनाएका छन् ।
कोहलपुर नगरपालिका वडा नम्बर १ र २ मा एक एक ओटा घर बनाएका छन् । एक घरमा न्यौपाने र अर्को घरमा उनका भाई बस्दै आएका छन् । उनी यस अघि माओबादी केन्द्रबाट नगरप्रमुख पदमा प्रत्यासी थिए । नेता न्यौपानेको नाममा कोहलपुर–१ मा नम्बरी जग्गा रहेको खुलेको छ । कोहलपुर र बैजनाथमा १ बिगाह बढी नम्बरी खेतीयोग्य जग्गा रहेको छ ।
नेकपा कोहलपुरका नेता खिलप्रसाद भुषालले पनि सार्वजनिक जग्गामा घर बनाएका छन् । कोहलपुर २ मा झण्डै ५ कठा सार्वजनिक जग्गामा आलिसान घर बनाएका छन् । व्यवासायिक पृष्ठभूमिका भुषालको कोहलपुरको मुख्य बजार क्षेत्रमा समेत घर रहेको छ । तर उनी ऐलानी जग्गामा बनाएको घरमा बस्दै आएको उनका छिमेकी बताउँछन् ।
बजार क्षेत्रको घर भने नम्बरी जग्गामा छ । बजारको घर बाहेक उनको परिवारको नाममा कोहलपुर नगर क्षेत्रमा थुप्रै जग्गा रहेको छ । उनी घर जग्गा व्यावसायी समेत हुन । कोहलपुर ४ मा निर्माण भएको तारे होटल सेन्टर प्लाजा बनेको डेढ बिगाह बढि जग्गा उनैले बिक्रि गरेका हुन् । उनको परिवारबाट सञ्चालित भुषाल ब्रदर्स नामक व्यवसायीक कम्पनी बाट १ दर्जन बढि सवारी साधन समेत छन् ।
नेकपाकै अर्का नेता अब्दुल हुसेन खानले पनि सार्वजनिक जग्गामा घर बनाएका छन् । आफुसंग सुकुम्बासी आयोगले दिएको पुर्जा भएको दाबी गर्ने खानको आफ्नै निजी सवारी साधन कार छ । नेकपाका नेता मात्रै होईन नेपाली काँग्रेसका नेता समेतले नम्बरी जग्गा हुँदा हुदैँ सार्वजनिक ऐलानी जग्गा कब्जागरि गगन चुम्बी महल ठड्याएका छन् । घर जग्गाका कारोबारी समेत रहेका काँग्रेस नेता युवराज पौडेलको कोहलपुर नगर क्षेत्रमा बिगाहका बिगाह नम्बरी जग्गा छ । तर, उनले कोहलपुर नगरपालिका वडा नम्बर ३ को सार्वजनिक ऐलानी जग्गामा २ तले महल ठड्याएका छन् ।
पुर्वपश्चिम राजमार्गको मदन चोकबासीका अनुसार पौडेलले बिगतमा १० कठा बढि सार्वजनिक जग्गा बिक्रि गरेका थिए । यस्ता जनप्रतिनिधीले कोहलपुर ३ को पुर्वपश्चिम राजमार्ग क्षेत्र नजिक १५ कठा सार्वजनिक जग्गा प्लटटिङ गरेर बिक्रि गरेका छन् । राजनितिक पहुँचको आधारमा कोहलपुर क्षेत्रमा बिगत लामोसमय देखि सरकारको सार्वजनिक जग्गा अबैधानिक तवरले कब्जा गर्ने र बिक्रिबितरण भईरहेकोछ ।
यसरी सरकारी जमिन कब्जा हुँदा समेत राज्य संयन्त्र उदासिन छन् । शक्ति र पहुँच तथा राजनीतिक दाउपेचले गर्दा जिल्ला तहको सरकारी संयन्त्रले अहिले पनि कानमा तेल हालेर बस्नुको विकल्प नभएको देखिएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्वाङ समेत यस विषयमा उदासिन देखिएको नागरिक बताउँछन् ।
कोहलपुर क्षेत्रमा सरकारी हजारौ विघा जमिन नागरिकले अतिक्रमण गरिरहेका छन् । कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावतले आफ्नो घर सरकारी जमिनमा भएको स्वीकार्यका छन् । उनले आफूले २०२५ सालदेखि सरकारी जमिन भोगचलन गर्दै आईरहेको बताउँदै अहिलेसम्म उक्त जमिनका बिषयमा आफूमाथि कुनैपनि उजुरी नपरेको दाबी गरेका छन् । नापीले हरेक वर्ष उक्त जमिन आफनो नाममा नापी गरेको छ मेयर रावतले भने ‘स्थायी पुर्जा मात्रै नदिएको हो ।’ अहिले आफू लगायत विभिन्न जनप्रतिनिधी र नेताले भोगचलन गरिरहेको जमिनको विवाद नभएको उनी बताउँछन् ।
सरकारी जमिन कब्जा गरी घर बनाएर बसेको आरोप खेपिरहेका नेकपाका नेता तथा पुर्वसांसद देवराज भार, पुर्व उपसभामुख पूर्णाकुमारी सुवेदी, खिलप्रसाद भुषाललगायतसँग यस बिषयमा बुझ्न खोज्दा उनीहरूको मोबाईलमा पटक–पटक फोन गर्दा पनि सम्पर्क हुन सकेन् । नेकपाका नेता नरेन्द्र न्यौपानेले भने यो व्यक्तिगत भन्दा पनि आमनागरिककै समस्या भएकाले राज्यकै संयन्त्रबाट समस्याको समाधान खोजिनुपर्ने बताए । उनले आफू आधा नम्बरी र आधा सरकारी जमिनमा बसेको स्वीकार्यका छन् । उनका अनुसार वडा नम्बर एकमा ९५ प्रतिशत जमिन सरकारी छ । जसमा आफू लगायत आमनागरिकले अव्यवस्थित बसोबास गर्दै आएका छन् ।
यतिबेला कोहलपुर वडा नम्बर ४ किरण नालमा रहेको सरकारी जग्गामा पनि पत्रकारदेखि राजनितिक दलका नेताहरुको समेत आँखा परेकोछ । उक्त जमिनमा कोहलपुरका ब्यवसायीदेखि सम्पन्न ब्यक्तिहरुको पनि एक झुण्ड सरकारी जग्गा अतिक्रमणका लागि लागिपरेकोछ । उक्त जग्गा अतिक्रमणबाट रोक्नका लागि राज्य संयन्त्र भने उदासिन देखिन्छ ।