गाई काट्नेलाई कार्बाहीको माग गर्दै बजार बन्द

देउखुरी, केहिदिन पहिले देउखुरीको गढवा स्थित रामपुरमा गाई काटेको बिरोधमा बिहिवार स्थानीयहरुले दोषी माथी कानूून सम्मत कार्बाहीको माग गर्दै ईलाका प्रहरी कार्यालयलाई दबाव दिएका छन् ।

दोषी पत्ता लगाएर कानून सम्मत ढंगले कार्वाही गर्नुपर्ने र दोषीलाई उन्मुक्ति दिन नहुने भन्दै स्थानीयले गढवा बजारका २ स्थानमा कोणसभा गर्नुको साथै सांकेतिक बिरोध स्वरुप : एक गढवा बजार समेत बन्द गरेका हुन् । यसैबीच गाई मालिक बिराहिम गुजरले इलाका प्रहरी कार्यालय गढवामा गोठबाट गाई चोरीगर्ने र राष्ट्रिय जनावरलाई काट्नेलाई कार्बाही गर्न भनि निवेदन दर्ता गरेका छन् ।

केहि दिन अघि गढवाको रामपुर गाउँको दक्षिणतर्फ कक्रहवा खोलामा गाईको बाच्छी काटेको र त्यसको खुट्टा, छाला र पुच्छर बोरामा हाली खाडल खनेर पुरिएको पाइएको हो । गढवा-६ रामपुर बस्ने प्रधान भनिने बिराहीम गुजरको गाईको बाच्छी-८ दिन पहिले गोठबाट हराएको गुजरले बताएका छन् । स्थानीयहरुलाई गुजरले गाइको बाच्छी गोठबाट हराएको बताएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

इलाका प्रहरी कार्यालय गढवाका प्रमुख भरतसिंह राठौर सहितको प्रहरीको टोलीले अनुसन्धान गर्दा कक्रहवा खोलामा गाइको खुट्टा, छाला र पुच्छर खाडलमा पुरेको अबस्थामा फेला पारेको थियो । घटना स्थलमा पुगी प्रहरीले शंकास्पद खडल उत्खनन् गर्दा खुट्टा, छाला, खुर र पुच्छर भेटिएको बताएको थियो । यस्तो घटना यहाँ पटक–पटक हुने गरेकोले निन्दनीय भएको भन्दै प्रहरीले चाँसो दिनुपर्ने र अनुसन्धानको दायरा फराकिलो बनाउन जरुरी भएको स्थानीयहरुले बताएका छन् । 

प्रहरीले घटना स्थलमा फेला पारेको सामाग्रीको अस्थिपंजर सहित मुचुल्का तयार पारेको र तीन जनालाई अनुसन्धानका लागि ल्याइएको बताएको छ ।  बिहिवार स्थानीयको दबाव पछि प्रहरीले घटनाको कडाईका साथ थप अनुसन्धान थालेको बताइएको छ । अनुसन्धानको क्रम जारी छ, प्रमाण खुलेको छैन ।

हालसम्म १० जनालाई जनालाई सोधपुछका लागि ल्याएका छौं, केही ब्यक्तिहरु हाम्रो नियन्त्रणमै छन् –पत्ता लागेमा नियमानुसार कार्बाही हुन्छ–प्रहरी प्रमुख राठौरले भने । दोषीहरु पत्ता लगाउन प्रहरीले हर संम्भव प्रयास गरिरहेको उनले बताए । घटनालाई साम्प्रदायिक ढंगबाट अगाडी नबढाउन समेत प्रहरी प्रमुख राठौरे स्थानीयलाई आग्रह गरेका छन् ।