केपीको जाल, पीकेको काल

एकपटक शहरमा ठूलाबडाहरुको कचहरी चलिरहेको ठाउँमा आफन्ती पुग्यो । उसले आफ्नो मुलुकको प्रधानमन्त्रीलाई व्यंग्य हान्दै भन्यो– ‘मित्रहरु म तपाईंहरु समक्ष भन्न चाहान्छु कि यो प्रधानमन्त्री भन्दा त मेरो गधा नै बुद्धिमान छ ।’

यो कुरा आगोसरि फैलिएर प्रधानमन्त्रीको कानमा पुग्यो । उनले सिपाही लगाएर घिसार्दै आफन्तीलाई बादशाह अघिल्तिर हाजिर गराए । प्रधानमन्त्रीले आफूलाई निन्दा गरेको दोषारोपण गर्दै कडाभन्दा कडा सजायको माग गरे । रिसले चुर हुँदै आफन्तीलाई बादशाहले सोधे– ‘तिमीले प्रधानमन्त्रीभन्दा मेरो गधा नै बुद्धिमान छ भनेर कसरी भन्यौ ? तिमीसंग के प्रमाण छ ?’ ‘मसंग प्रमाण छ’ आफन्तीले जवाफ दियो– ‘एकचोटि म मेरो गधा चढेर पुलबाट जाँदै थिएँ ।

कुनै जनावरको खुट्टा त्यस पुलको यौटा प्वालमा परेर झिक्न कठिन भएको रहेछ । मेरो गधाको प्रयासबाट त्यसले बल्ल बल्ल आफ्नो खुट्टा प्वालबाट झिक्न सफल भयो । यसको केही दिनपछि म फेरि त्यही पुलबाट जानु प¥यो । त्यसबेला के भयो भने मेरो गधा त्यो प्वालमा खुट्टा पर्ला भनेर होशियार भयो । तर सरकारको प्रधानमन्त्री कस्तो छ नजर गरिबक्स्योस । जनताले विहानदेखि बेलुकासम्म ठग, बदमास, चोर भन्ने गर्छन । त्यही पनि उसले जनता ठग्ने, लुट्ने र दुख दिने काम छोडेको छैन । सरकार के मेरो गधा यो प्रधानमन्त्रीभन्दा बुद्धिमान छैन र ?’ हा…हा..हा ठीक छ, ठीक छ । प्रधानमन्त्रीतिर हेरेर बादशाहले उर्दी जारी गरे– ‘आजदेखि तिमीले उसका गधाको अनुशरण गर्नू ।’

केपी ओलीले नियुक्त गरेका सेरेमोनियल अध्यक्ष प्रचण्डले चितवनमा पुगेर चिसो पानीले नुहाएका छन् । प्रतिशोध र दम्भमा गिरिजाप्रसाद कोइरालाको अवतार मानिने केपी ओली चरित्रको टेलरबाट नै प्रचण्ड चेतबाबाकाशी भएका छन् । केपीले त्यो पदबाट घोक्रेठ्याक लगाउने हो भने ‘पानी’ भन्ने सम्मको सामथ्र्य उनमा रहँदैन । पहाडमुनिको सतहमा पुगेपछि उँटले आफ्नो औकात थाहा पाएजस्तै केपीको संगतले बिक्नुभन्दा टिक्नुमा आफ्नो भलो हुने शिक्षा दिएको छ ।

विश्वका क्रुर तानासाह मानिने इदिअमिन, बोकासादेखि विन लादेन र सद्धाम हुसेनहरु पनि माथिबाट तल हेरेर भन्दा हुन– ‘थुईक्क अपराधी हो, अपराधको पनि हद हुन्छ नि ! ’

सांगठनिक हिसावले नै हेर्ने हो भने एमाले जालो हो भने माओवादी मूलतः बर्खेभेल । बर्खामा भेलको सौन्दर्य देखिए पनि बिजुली निकाल्न यसको काम आउँदैन । माधव नेपाल र झलनाथ खनाल यस्ता नेता हुन, जसको शैली म्यानेजर कम खजाञ्ची ज्यादा देखिन्छ । उनीहरुले पाएको प्रधानमन्त्रीको भूतपूर्व विशेषणमा कांग्रेस र माओवादीको बिल्ला टाँसिएको छ । आफ्नो पार्टीले पत्याएर त्यहाँ पुगेको दशी प्रमाणले मान्दैन । प्रकारान्तरमा जहाजको कोपाइलट त के कपास बाँड्ने एयरहोस्टेज पाए पनि प्रचण्डका लागि स्वीकार्य छ । भोलि पाउने मयूरभन्दा अहिले हातमा रहेको परेवालाई स्याहार्नु नै बुद्धिमानी हो । त्यसै पनि ओलीविरुद्ध गरिएको गठजोड अन्ततः बर्दीका खातिर थियो । वर्तमान राज्यप्रणालीमा जुनसुकै व्यक्ति आविष्कार भएपनि परिणाम यही नै हो । जनता सुखी, मुलुक समृद्ध र राज्यप्रणाली सुशासनको यात्रामा अघि बढेको दृश्य प्रधानमन्त्रीको चश्माले मात्र देख्छ ।

अहिलेका लागि मानौं ओली प्रधानमन्त्री हुनु नै नेपालीका लागि गौरव हो । यसमै कृतज्ञ हुनु सबैमा भलो छ । मुलुकको गति नाप्ने यन्त्र भनेको तथ्यांक हो । भावनाले शासन चल्दैन । घरमा भएका तीनपुस्तालाई हेरेर नीति निर्माण गर्ने हो भने त्यो जस्तो प्रभावशाली योजना खोज्न कतै भौंतारिनै पर्दैन । उम्रेदेखि खुम्रेसम्मकाले बोकेको मोबाइलमा हालिने रिचार्जको श्रोत के हो ? किशोरकिशोरीले चढ्ने बाइकको तेल कुन आयश्रोतबाट भरिन्छ ? यसको पृष्ठभूमि खोज्ने वित्तिक्कै अर्थशास्त्रको चुरोमा स्वत पुग्न सकिन्छ । लाखौं किशोरकिशोरी विहान १० बजे पढाई सकेपछि दिनभर फेसबुकमा झुण्डिएर बस्छन् । यो उर्जावान जनशक्तिलाई ज्यालादारी नै सही, सरकार र निजीक्षेत्रका फ्रन्टडेस्क काम दिने हो भने ग्यारेन्टी दिएर भन्न सकिन्छ, त्यसपछि कुनै युवापुस्ता विदेश पलायन हुँदैन । कामप्रतिको मोहले आफ्नै माटो पुज्ने उत्प्रेरणा प्राप्त हुन्छ । यस्ता रचनात्मक विषय छुनु भनेको अपराध सो सरह ठहर्छ । उडन्ते र घोकन्ते विषयमै राजनीतिकर्मीको दैनिकी बित्दो छ ।

सत्ययुगमा रावणको कब्जाबाट नारीत्व बचाएर फर्किएकी सीता आफ्नै पति राजा भएको रामराज्यभित्र अग्निपरीक्षामा होमिनु परेको थियो । आलोचक भनिएको धोवी पात्र त एउटा निहुँ मात्र थियो– सत्ता र शक्तिको अहं कति विवेक शून्य हुन्छ भन्ने उदाहरणको तस्वीर त्यो बेलादेखि यो बेलासम्म आउँदा सक्कल बम्मोजिम नक्कल उस्तै छ । पोखरीमा माछाले हजारौं, लाखौं पूmल पार्छ तर कसैलाई पत्तो हुन्न, यद्यपि कुखुराको पोथीले एउटा अण्डा पारेपछि बस्ती नै थर्काउँछ । प्रधानमन्त्री केपी ओलीप्रति अनास्था हैन तर माईक पाउनासाथ उहाँका हुँकार पनि कुखुरीको कोरकोराइ भन्दा कम छैन् ।

प्रकारान्तरमा जहाजको कोपाइलट त के कपास बाँड्ने एयरहोस्टेज पाए पनि प्रचण्डका लागि स्वीकार्य छ । भोलि पाउने मयूरभन्दा अहिले हातमा रहेको परेवालाई स्याहार्नु नै बुद्धिमानी हो । त्यसै पनि ओलीविरुद्ध गरिएको गठजोड अन्ततः बर्दीका खातिर थियो ।

प्रधानमन्त्रीले शूत्रवद्ध बोल्नुपर्छ । मन, मुटु, मस्तिष्क सन्तुलित बनाउनुपर्छ । आशा जगाउनुपर्छ । शास्त्रले भन्छ– चारै प्रहर जागा रहनुपर्छ । देश चलाउने मुखियाका पदभन्दा प्रोफाइल नभएका मानिसबाट जनताको इच्छा अपेक्षा बढ्दो छ । सामाजिक सञ्जालमा महत्व पाएका विषय राजनीति धर्म, मर्मलाई सोतर पार्ने खालका छन् । यस्तो अवस्थामा राजनीतिकर्मीलाई राजनीति र ओहोदाको वजन बढाउन सत्कर्मको जरुरी छ । निजीक्षेत्र जस्तो सुक्सुकाउँदो सरकारी अस्पताल किन बनेन ? तीनवटा कोठामा निजी बैंकले दिएको सुविधा सरकारी बैंकले बंगला हुँदा पनि किन दिन सक्दैन ? ठूला व्यापारीले उत्पादन गर्ने विस्कुट, चकलेट, चाउचाउ, मदिरा देशव्यापी हुन चौबीस घण्टा काफी छ । तर सरकारी संयन्त्रले दिने मलखाद, चामल, नून बरु कुहिन्छ, कुपोषणले मानिस मरेको समाचार आइपुग्दा समेत मुखमा सितो पुग्दैन । एउटा गरीबले ज्यान जोखिममा राखेर भेला पारेको एकमुठी यार्सागुम्बा, ठूलो ओखती, चिराइतो, जुम्ला, हुम्लाको स्याउले गन्तव्य पुग्ने क्रममा देशका सवै कानुन आकर्षित हुन्छन् । भरसक उसलाई काठमाडौं झर्दा त्यो ‘अवैध’ माल बस्तु सहित पुलिस पत्रकार सम्मेलन गर्न हतारोमा पुगिसक्छ । ठूलाबडा विदेश जाँदा देख्नुहुन्छ– त्यहाँ व्यक्तिलाई बाघ पाल्ने अनुमति दिएको हुन्छ । सर्प पालिन्छ । यहाँ परिवर्तनका नाटक भए तर आफ्नो बारीमा हुर्काएको सालको बोट काट्दा ज्यान मारेको भन्दा ठूलो सजाय हुन्छ । मानिस अरबपति त भए तर उसले निजी विमान किनेर चढ्ने अधिकार आजका मितिसम्म कानुनले बन्देज लगाएको छ । जनतामारा यति कानुन छन, जसको नामेठ गर्ने हिम्मत कसैमा छैन ।

सरकारी संयन्त्रको नेतृत्वमा भएका विकासप्रति कसैको भरोसा छैन । उपभोक्ताले किनेको माटाको सानो घैंटो पानी चुहुने भयो भने व्यापारीले नाकाका चालमा साट्छ । सरकारी कुर्सीमा बसेर गर्ने गल्तीका भागिदारको अवस्था के छ ? दुई वर्षअघि अख्तियारको कारवाहीमा परेर तारिख धाउने कर्मचारी दुई वर्षपछि अख्तियारको अब्बल अनुसन्धानकर्ता भएर थिति बसाउन निस्कन्छ । भन्सार, राजश्व, अध्यागमन, नापी, मालपोत यस्ता सुन्दर उपवन हुन, नोकरी गर्नेहरुलाई दशैंमा आशिर्वाद दिँदा समेत यी ठाउँमा ‘सरुवा भएस’ भन्न बेर लाग्दैन । राजनीति गर्नेहरुको काम खोसेर अरुले आफ्नो बनाएका छन् । कोही केपी ओली सतिसाल भनेर उफ्रिएका छन् । कसैले त्यही सतिसाललाई ढोडको लौरो देखेका छन् । सतिसाल र ढोडको भेद खुट्याउने मापन केही छैन । अतिवादको हावाले सबैलाई सोतर बनाएको छ । त्यसैले राजनीतिलाई आफ्नो स्वामित्वमा ल्याउनुस् ।

गाडी चलाउने चालक, ठेक्कापट्टा गर्ने ठेक्का, विद्यार्थीलाई पुस्तक, कर्मचारीलाई जनताको काम, पत्रकारलाई लेखन, डाक्टरलाई विरामीको उत्थानमा सीमित गरिदिनुस् । यिनीहरुको स्वधर्म यसैभित्र छ । यसका लागि सबै खाले ट्रेड युनियन, विद्यार्थी संगठन माटोमा मिलाइदिनुस् । फेसबुकले लाखौं पानी फोके सेलिब्रेटी जन्मिए । ती सबैलाई काम दिनुस् । अमूर्त र अनुत्पादक क्षेत्रमा दिइएका अरबौंका अनुदान हटाएर चामल बीस रुपियाँ र बोइलर कुखुराको मासु पचास रुपियाँ किलोमा उपलब्ध गराइदिनुस । क माने कलम हैन, क माने कर्म भनेर अन्तरचक्षु घोकेका दिन विकास घोटाइरहन पर्दैन ।

दिनमा दुईछाक मासुभात खाएर निस्किएको त्यो जनशक्ति अमेरिका पठाउनुहुन्छ कि अर्घाखाँची त्यसपछि गर्नुस गलफत्ती । अरुले तथास्तु गरेर देश समृद्ध भएको उदाहरण छैन । अर्काका देशमा कुदेको चुचे रेलको कथा भनेर यहाँ त्यो रेल गुड्दैन । सपना देख्नुअघि यहाँका चुहेका घर टाल्न उत्प्रेरक भइदिनुस् । घरघरमा तीनपुस्ताको अघोषित लडाईंलाई साम्य पार्ने उपाय खोजिदिनुस् । हजुरबा पुस्ता घरलौरी अनाथ बनेको छ, तिनको मुहारमा हाँसो ल्याउन गाउँ गाउँमा सामाजिक क्लब बनाइदिनुस् ।

शिक्षा र स्वास्थ्य यति सरल र सहज होस् कि रातमाटे स्कुलमा पढ्नेहरुको बहुमत डाक्टरको दीक्षान्त समारोहमा देखियोस् । विदेशमा सीप, ज्ञान हासिल गरेका विज्ञलाई आकर्षक मान, सम्मान दिएर स्वदेशमा तान्नुस् । उम्दा प्रतिभालाई एक्काइसौं शताब्दीको विकास अवलोकन गर्न देश विदेश पठाउनुस् । भिजन पेपरका आधारमा मानिसलाई अवसर दिनुस् । कम्युनिष्ट, काँग्रेस हैन सबल, सक्षम जनशक्ति जन्माउनुस् । माक्र्सवाद, लेनिनवाद, माओवादजस्ता घिउ नलाग्ने दर्शन घोकाएर अब एक्काइसौं शताब्दीमा खोलेफाँडो जुटाउने कल्पनासम्म पनि असभ्य कर्मभित्र पर्छ । कसैको मादल भ्वाङ पर्दैमा संसारबाट मादलको घिन्ताङ त किमार्थ हराउँदैन । माओवादीले भएजति सबै फेर्न खोजेकै हुन । आखिरमा उनीहरु आपूm चाहिँ फेरिनुप¥यो । दलदले भूमि सिंगापुरलाई हिराको डल्लोमा रुपान्तरण गर्ने लिक्वान कुनै सरकारी कागजमा दस्तखत गर्नु अघि यौटा प्रश्न गर्थे– ‘यो निर्णयले सिंगापुरलाई हित गर्छ कि अहित ?’ कर्मचारीले उपलब्धिको बेलिविस्तार लगाउँथे । त्यसपछि उनी आँखा चिम्लेर सही धस्काउँथे । देश बनाउनेले आफ्नो कर्मले जवाफ दिनुपर्छ । ट्याउँ ट्याउँ त पिँजडाको सुँगाले पनि बोल्छ ।

आकास खसेर या धर्ती उल्टिएर मानव सभ्यता नै सखाप हुनुलाई मात्र बर्बाद नठान्ने हो भने माया पात्रोले भविष्यवाणी आंशिक असत्य छैन् । सम्पत्तिका लागि ससुराले बुहारी मार्नु , आफ्नै सन्तानमाथि बलात्कार गर्नु , बाउआमा मिलेर आफूले हुर्काएको रगतको डल्लोमा आगो लगाउनु , घरमा चोरी गराएरै त्यही चोरसंग महिला टाप कस्नु , कुदिरहेको बसमा किशोरीमाथि मिलेर बलात्कार गर्नु , सन्तानको लालनपालन गर्न नसकेर बच्चासहित डोरीमा टाँगिनु, पुलबाट हाम्फाल्नु यिनै प्रतिनिधि घटना हुन, जसले हाम्रो सामाजिक मनोदशाको प्रतिनिधित्व गर्दछन् । अपराधी तर्सने यसखाले घटना परिघटनाको शूत्रपात कहाँबाट हुनथाल्यो ? विश्वका त्रूmर तानासाह मानिने इदिअमिन, बोकासादेखि विन लादेन र सद्धाम हुसेनहरु पनि माथिबाट तल हेरेर भन्दा हुन– ‘थुईक्क अपराधी हो, अपराधको पनि हद हुन्छ नि ! ’

राजनीतिक नेतृत्वले ढुक्क भए हुन्छ– समस्या राउटे, चेपाङ, कुसुण्डा बस्तीमा छैन् । समस्या त समस्यालाई सधैं समस्या देखेर हात हाल्न हिम्मत नगर्ने सोचमा छ । समस्या अन्नको रासमा पुगेर पनि भोककै गीत गाइरहने राजनीतिक नेतृत्वमा छ । सिंहदरबार पस्दा संसार सम्याउने हाँक लिएर पस्ने नेताहरु निस्कँदा चोर विरालो जस्तो दूध चोरेको नदेख्ने, पिटाइ खाएको देख्ने जस्तो भएर निस्कन्छन् । नेपालमा कस्तो सुन्दर राजनीति चल्छ भने गरिबीको राग अलापेर राजनीति गर्नेहरु आपूm समृद्ध बन्छन तर गरिबको उन्नयन कहिल्यै हुँदैन । हामी गरिब या गरिबी कसको उन्मूलन गर्दैछौं, त्यसको स्पष्ट राजनीतिक जवाफ कसैसंग छैन् ।

गरिबीको अन्त्य गर्न गरिबलाई बाख्रो त दिन्छौं, तर जाँडको सितनका लागि बाख्रो नै सिध्याउने त्यो गरिबको गरिबी कसरी अन्त्य होला त्यसको अर्थशास्त्रीय जवाफ कसैसंग छैन् । चुलोले नचिनेको राजनीति र खोटो मोहोर एउटै रहेछ भन्ने तथ्य बारम्बार प्रमाणित हुँदै आएको छ । हाम्रा लगानीहरु नुन, सुन र लसुनमा भन्दा भनसुनमा केन्द्रित बन्दै गए ।