अहिलेसम्म १७,३४४ संक्रमितमध्ये ११,२४९ जना कोरोनामुक्त
काठमाडौं,कोरोना भाइरस संक्रमणबाट बिहीबारसम्म ११ हजार २४९ जना मुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो कुल संक्रमितको ६४.८५ प्रतिशत हो।
नेपालमा कोराना संक्रमितको कुल संख्या १७ हजार ३४४ पुगेको छ भने ३९ जनाको ज्यान गएको छ। मन्त्रालयका अनुसार प्रदेश १ बाट अहिलेसम्म ७४४ जना कोरोनाबाट मुक्त भएका छन्। यस्तै प्रदेश २ बाट दुई हजार ५३८, बागमतीबाट ४०६ र गण्डकीबाट ९३५ जना संक्रमण मुक्त भएका छन्।
प्रदेश ५ बाट तीन हजार ५३७, कर्णालीबाट एक हजार ४७९ र सुदूरपश्चिमबाट एक हजार ६१० जना संक्रमण मुक्त भएका छन्। विभिन्न अस्पतालका आइसोलेसनमा रहने संक्रमितको संख्या ६ हजार ५६ छ। यसमध्ये प्रदेश १ मा ६७, प्रदेश २ मा एक हजार ९१५ र बागमतीमा ४२८ जना छन्।
गण्डकीमा ३८५, प्रदेश ५ मा ५५८, कर्णालीमा ३१९ र सुदूरपश्चिममा २ हजार ३८४ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।