पछिल्लो २४ घण्टामा थपिए १६७ संक्रमित, २१३ जना डिस्चार्ज
काठमाडौँ , नेपालमा पछिल्लो २४ घण्टामा थप १६७ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १७ हजार ३४४ पुगेको छ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ११ हजार २४९ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २१३ जना उपचारपछि डिस्चार्ज भएका छन् । ६४.८५ प्रतिशत संक्रमित निको भएका छन् । हालसम्म नेपालमा कोरोनाबाट ३९ जनाले ज्यान गुमाईसकेका छन् ।
यस्तै, मुलुकका ४ जिल्ला कोरोनामुक्त भएका छन् । प्रवक्ता डा. गौतमकाअनुसार भोजपुर, मुस्ताङ, मनाङ र हुम्लामा कोरोना संक्रमित भेटिएका छैनन् ।
नेपालमा पीसीआर विधिबाट हालसम्म ३ लाख ३ हजार ८१० जनाको नमूना परीक्षण गरिएको छ । गत २४ घन्टामा पीसीआर विधिबाट ४ हजार ९८१ जनाको नमूना परीक्षण गरिएको छ । मन्त्रालयका अनुसार क्वारेन्टाइनमा बस्नेको संख्या २३ हजार ५०० छ भने आइसोलेसनमा ६ हजार ५६ जना उपचाररत छन् । हाल मुलुकका २७ वटा प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको छ ।