विप्लव समूहका सेती महाकाली ब्युरो इञ्चार्ज पुन पक्राउ

काठमाडौं, नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य तथा सेती–महाकाली ब्युरो इञ्चार्ज ओमप्रकाश पुन पक्राउ परेका छन् । नेता पुनसँगै केन्द्रीय सदस्य समेत रहेकी उनकी श्रीमती पूर्णीमा धामी पनि कैलालीबाट पक्राउ परेको प्रहरीले जनाएको छ ।

विशेष प्रहरी टोलीले बुधबार धनगढी उप–महानगरपालिका वडा नम्बर ७ वेलीबाट उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टका अनुसार उनीहरु प्रदेश २–०३–००५ प ९५९७ नम्बरको मोटर साइकलमा सवार थिए । उनीहरूलाई चेक गर्दा पुनले बोकेको झोलाभित्र लुगामा लुकाई राखेको अवस्थामा एक थान कटुवा पेस्तोल एक राउण्ड गोली समेत भेटिएको छ।