बुहारीको हत्या आरोपित चारै जना कारागार चलान
काठमाडौं, बिमा रकमकै लागि हत्या गरेको अभियोगमा पक्राउ परेका हेटौडाका चार जना पुर्पक्षका लागि कारागार चलान भएका छन्।
हेटौंडा–४, कर्राकी २६ वर्षीया सुस्मिता थापाको हत्याका आरोपित चारै जनालाई मकवानपुर जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो। सोमबारदेखि सुरु भएको थुनछेक बहसको बुधबार आदेश गर्दै जिल्ला अदालतकी न्यायाधीश सीता शर्मा अधिकारीको एकल इजलासले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।
सुस्मिताको हत्यामा संलग्नको आरोपमा ससुरा प्रकाश थापा, सासू तुलसीकुमारी थापा, नन्द सीता थापा, आमाजू २७ वर्षीया दुर्गा थापा कारागार चलान भएका हुन्। असार २ गते भएको घटनाका चार अभियुक्तलाई असार १५ गते जिल्ला प्रहरी कार्यालय, मकवानपुरले सार्वजनिक गरेको थियो। आमाजू दुर्गा थापाका पति अरुण कार्की भने फरार रहेको प्रहरीले जनाएको छ।
सुस्मिताका पति रूपेन्द्रको सवारी दुर्घटनामा मृत्यु भएपछि बिमाबाफत पाउने रकमका लागि परिवार मिलेर बुहारीको हत्या गरेको निष्कर्ष प्रहरीले निकालेको छ।