गण्डकीमा थप २५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १ हजार २२८

पोखरा, गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरा, भरतपुर अस्पताल चितवन र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा गण्डकीमा थप २५ जनामा कोरोना पुष्टि भएको हो ।

गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोदविन्दु शर्माका अनुसार नयाँ संक्रमितमा कास्की पोखरा महानगरपालिकामा १ जना, नवलपरासी सुस्ता पूर्वका ११, म्याग्दीमा ९,गोरखामा १ र तनहँुमा ३ जना रहेका छन् । कोरोना देखिएका संक्रमितलाई सम्बन्धित जिल्लाको आईसोलेसनमा लैजाने तयारी भैरहेको स्वास्थ्य निर्देशक डा.शर्माले जनाकारी दिए ।

योसँगै गण्डकीमा संक्रमितको संख्या १ हजार २ सय २८ पुगेको छ । प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या ९ सय २५ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । गण्डकी प्रदेशमा अहिलेसम्म कोरोना संक्रमणबाट ४ को मृत्यु भएको छ । मृत्यु हुनेमा बागलुङका १, गोरखाका १, स्याङजाको वालिङका १ र आँधिखोला गाउँपालिकाको पञ्चमुलका ५५ वर्षीय १ पुरुष रहेका छन् ।