‘म रुझेर भिजें’

झरी परिरहेको थियो,
म रुझिरहेको थिएँ।
झरी परिरहेको थियो,
उनीहरू भिजिरहेका थिए।
तर सबैको भीजाई आनन्दको थियो,
मेरो रुझाई पीडाको थियो
अरू ओत छोडेर भिजेका थिए ।
म ओत नभएर रुझेको थिएँ,
तर हेर्दा लाग्थ्यो सबै भिज्नलाई हिँडेका थिए।
म भने ओत खोज्नलाई रुझेको थिएँ।
अरू भन्थे भिज्नुको मजा बेग्लै,
म भन्छु रुझ्नुको पीडा बेग्लै
वर्षा त्यही हो, अरूलाई भिजायो
अनि मलाई रुझायो।

अरुलाई हसायो ,
अनि मलाई रुवायो
तर हेर्नेको दृष्टिले सबैलाई
रमाएको देख्यो
सबैको खुसीले म
भित्रको चिच्याहट छेक्यो।
अनि म पनि खुसी देखिएँ 
भन्नेले भन्यो खुसीले भिजेका छन्।
म पनि रुझेर भिजे, रोएर हासे 
विवशताले रुझे ,बाध्यताले भिजे
अनि म सधैं सधैं को लागि रुझे ,
अनि भन्नेले मलाई भिज्ने भनिदियो
म भिज्ने मानिस बने 
तर भित्र भित्र भन्ने गर्छु ,
म भिजेको हैन ,रुझेको हुँ ।