बाँकेको खजुरामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

नेपालगन्ज, बाँकेको खजुरा गाउँपालिकाले सोमबार चालू आर्थिक वर्षको अन्तिम सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न  गरेको छ । चालू आर्थिक वर्ष २०७६/०७७ मा पालिकाले सम्पादन गरेका काम कार्यहरु सार्वजनिक गर्दै सार्वजनिक सुनुवाईको आयोजना गरिएको हो ।

सार्वजनिक सुनुवाईमा खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले  खजुरा गाउँपालिकाले प्रवाह गर्ने सेवा सुविधा र कार्यप्रगतिबारे गाउँपालिकाको वेभसाइटमा राखिने गरेको जानकारी दिए । चालू आर्थिक वर्षको गाउँपालिकाले गरेका विभिन्न गतिविधि, आगामी योजनाबारे प्रतिवेदन प्रस्तुत गर्दै प्रमुख कक्षपतिले विषयगत शाखाहरुले गरिरहेको कार्यप्रगतिका साथै वडाहरुमा भइरहेको विकास निर्माणमा कोरोनाले प्रभावित भएको बताए ।

कार्क्रमममा खजुराबासीले खजुरा गाउँपालिकाले प्रवाह गर्ने सेवा सुविधा र त्यसको प्रभावकारिताबारे गाउँपालिकाबाट प्रवाह हुने सेवा बारे खजुराका विभिन्न वडाबाट सहभागीले प्रश्न गरेका थिए ।

उनीहरुले सडकमा खाल्डाखुल्टी, कोरोना प्रभावमा राहत, कृषिमा किसान केन्द्रित कार्यक्रम नभएको, कोविडमा भएको खर्चबारे प्रश्न राखेका थिए । 

विभिन्न सम्पन्न भएका योजना, कृषि, शिक्षा, स्वास्थ्य, खेलकुदलगायतका क्षेत्रमा भएका प्रगतिबारे प्रतिवेदनमा उल्लेख गरिएको छ । ८ वटै वडाबाट आएका सहभागीले उठाएको प्रश्नको जवाफ खजुरा गाउँपालिका प्रमुख कक्षपति, उपप्रमुख एकमाया विक, प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसी, वडा अध्यक्षहरु, विषयगत शाखाका प्रमुखहरुले दिएका थिए ।