लमजुङमा पहिरो खस्दा पुरै गाउँ विस्थापित

बेशिसहर, लमजुङमा सोमबार दिनभरी गएको पहिरालेका कारण पुरै बस्ति नै विस्थापित भएको छ । केहीदिनदेखि लगातार परेको अविरल वर्षालेले सोमबार बिहानबाट दिउँसोसम्म पहिरो जाँदा मध्यनेपाल नगरपालिकाका विभिन्न वडाका बस्तीका १०९ घर विस्थापित भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ओमप्रकाश पुनका अनुसार सो नगरपालिकाको वडा नं. ६ रानीपानी गाउँका ३१, लामासोतीका २७, रातामातेका २१, भदौरेका ११, गुम्बाबेँसीका नौ घर विस्थापित भएका छन् ।

त्यस्तै, वडा नं। ३ सूर्यपालका पाँच, वडा नं. २ प्रजालुटारका तीन घर, वडा नं ४ चर्दीमा एक घर र वडा नं १ खवास गाउँमा एक घर विस्थापित भएको प्रहरी निरीक्षक पुनले जानकारी दिए ।

विस्थापित परिवारलाई प्रहरी र स्थानीयले मिलेर सुरक्षित स्थानमा राखेको छ । विस्थापितमध्येलाई इशानेश्वर माध्यमिक विद्यालय, आफन्तको घर र अन्यत्र सुरक्षित तरिकाले राखिएको छ ।

यस वर्षकै हालसम्म सबैभन्दा बढी घर विस्थापित सो नगरपालिकामा भएको प्रहरीको भनाइ छ । पहिराले मानविय क्षति भने हुन नपाएको प्रहरी निरीक्षक पुनले बताए ।