झनै ठूलो समूह बनाएर सलह दाङ पस्यो, किसानहरुले लगाएको मकै ध्वस्त
दाङ, दाङकाे देउखुरीमा भारतबाट पसेको सलहको नयाँ समूह देखापरेकाे छ । राप्ती गाउँपालिका र गढवा गाउँपालिका क्षेत्रमा किसान लगाएको मकै वालीमा नयाँ सलह कीरा देखा परेको कृषि ज्ञान केन्द्र दाङका प्रमुख सन्देश धितालले जानकारी दिए ।
‘अहिले देखिएको सलह कीरा भारतबाट आएको नयाँ समूह रहेको जानकारीमा आएको छ’ उनले भने ‘राप्ती र गढवा गाउँपालिका क्षेत्रमा सलह रहेको पाइएको छ ।’
यस अघिको भन्दा ठूलो संख्यामा सलह कीरा रहेको राप्ती गाउँपालिका निवासी किसान तथा राप्ती उद्योग बाणिज्य संघ भालुवाङका महासचिव सुरज खड्काले जानकारी दिए । ‘अस्तिको भन्दा अहिलेको सलह कीराको झुण्ड ठूलो र धेरै छ । अहिले कीरा फैलिएर मकै वालीमा वसेको छ’ उनले भने । ‘सलह धपाउन भाँडा ठटाउने, धुवा लगाउने काम गरिएको छ । तर, कीरा भागेका छैनन् ।’ खड्काले भने यता राप्ती गाउँपालिकाकाे वडा नं. २, ३, ४ क्षेत्रमा ठूलो संख्यामा सलह कीरा प्रबेश गरेर मकै बालीमा क्षति पुर्याइरहेकाे किसानहरूले बताएका छन् । राप्ती गाउँपालिका वडा नं. २ लालमटिया निवासी रामबहादुर कुमालले सलह धपाउन थाल ठटाउने र धुवा पार्ने काम गरेको बताएका छन् । ‘सलह कीरा धेरै देखियो ।
किराबाट मकै जोगाउन आवाज निकाल्नुपर्ने भएकाले थाल ठटाए, अनि धुवा पारे’ उनले भने । ‘सलहले वालीनालीमा धेरै असर गर्ने हो की भन्ने चिन्ताले सताउन थाल्यो ।’ कुमालले भने । पश्चिमबाट पूर्व तर्फ हावा लागेकाले कीरा पूर्व तर्फ गैरहेका छन् । यस अघि आएको सलह किराले दाङ जिल्लामा झण्डै ६ सय हेक्टर जमिनमा लगाएको धान, मकै र तरकारी बालिमा क्षति पु-याएको थियो ।