दाङमा अन्तर्राष्ट्रियस्तरको बहुउद्देश्यीय रंगशाला बन्दै
दाङ , दाङमा अहिले सम्मकै अत्याधुनिक सुबिधा सम्पन्न बृहत तथा अन्तर्राष्ट्रिय स्तरको बहुउद्देश्यीय रंगशाला निर्माणको काम अघि बढाइएको छ । जिल्लाको घोराही उपमहानगरपालिका वडा नम्बर १६ करौती डाँडामा प्रदेश सरकारको विशेष लगानीमा नेत्रलाल अभागी फुटबल रंगशाला निर्माणको काम शुरु गरिएको हो ।
करिब ८५ विगाहा क्षेत्रफल रहेको सो क्षेत्रमा बनाउन लागिएको उक्त परियोजना निर्माणको कुल अनुमानित लागत करिव ३ अर्ब अनुमान गरिएको छ । उक्त परियोजनाको शनिबार बिस्तृत परियोजना प्रतिवेदन सार्वजनिक गर्दै फुटबल मैदान सहितको बहुउद्देश्यीय रंगशाला निर्माणको लागत २ अर्ब ४८ करोड ५५ लाख ३ सय ५५ रुपैया लागत अनुमान गरिएका हो । तर लागतको दायरा बढाएर ३ अर्ब बनाउन सुझाव दिइएको छ ।
अन्तर्राष्ट्रिय स्तरका खेलकूल आयोजनासमेत गर्न सक्ने गरी निर्माण गर्न लागिएको सो रंगशालामा आउट डोर र इन्डोर खेल हुनेछन् । अत्याधुनिक पार्क, चमेना गृह, प्रशासनिक भवन लगायत, ड्रेसिङ रूमसहितको एकीकृत रुपमा बनाउन लागिएको सो बहुउद्देश्यीय रंगशालामा २५ हजार दर्शक क्षमताको अत्याधुनिक फुटबल मैदान हुनेछ ।
स्वीमिङ पुल, कभड हल, जीम, एथ्लेटिक्स लगायतको पूर्वाधार पनि त्यही बनाउने तयारी भएको छ । जसको इलेक्ट्रिक व्यवस्थापनमा मात्रै १२ करोड ४२ लाख लागत अनुमान गरिएको छ । प्रदेश सरकारले सो परियोजनाका लागि हाललाई ११ करोड २५ लाख रुपैयाँ पूर्वाधार व्यवस्थापनमा बजेट छुट्याएपनि बिस्तृत परियोजना अनुसारको रकम विशेष रुपमा विनियोजन गर्दै रंगशाला निर्माण गरिने भएको बताइएको छ ।
जिल्लालाई खेलकुदको हब बनाउने गरी रंगशाला निर्माणको काम अघि बढाइएको नेत्रलाल अभागी फुटबल रंगशाला निर्माण तथा व्यवस्थापन समिति सचिव नरेन्द्र पुनले जानकारी दिए । रंगशाला निर्माण सँगै खेलाडी उत्पादन गर्न र उनीहरुको क्षमता विकासमात्रै नभई खेलकुदमा नयाँ आयाम थपिने उनको विश्वस छ । ‘यो रंगशाला खेल र खेलाडीका लागि मात्रै होईन, यसले यहाँको आर्थिक, पर्यटन, धार्मिक, समाजिक क्षेत्रमा निकै सहयोगी सिद्ध हुनेछ पुनले भने ।’
यस्तै घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले खेलाडी र खेलकुदको विकासको लागि नेत्रलाल अभागी बुहउद्देश्यीय रंगशाला कोशेढुंगा सावित हुने बताए । रंगशाला निर्माण गर्न उपमहानगरको तर्फबाट सबै खालको सहयोग रहने उनको भनाई छ । प्रदेश सरकारको सहयोग पाएको यो बेलामा उपमहानगरले महात्वाकांक्षी परियोजना सफल पार्न सके यो उपमहानगर मात्रै नभई सिंगो जिल्लाबासीको गौरवको विषय बन्ने विश्वास व्यक्त गरे।
एडन इन्जिनियरिङ सोलुसन प्रालि काठमाडौंले तयार पारेको डिपिआरमाथि उपस्थित सरोकार निकाय तथा सम्बद्ध व्यक्तिहरुले सुझावसमेत दिएका छन् । उनीहरुले गुणस्तरमा विशेष ध्यान दिँदै दीर्घकालीन योजना अनुरुप नकारात्मक प्रभाव नपर्ने गरी डिपिआर तयार पार्न सके सोही अनुसार काम सफल हुने बताएका छन् ।