बाढी–पहिरो पीडितलाई तत्काल विद्यालय भवनमा राखिने

काठमाडाैँ, सरकारले बाढीपहिरोमा परेकालाई तत्काल उद्धार, राहतमा विशेष ध्यान दिने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकले प्राकृतिक विपद्बबाट पीडितहरुलाई तत्काल उद्धार गरी विद्यालय भवन वा सार्वजनिक भवनहरुमा पुर्नस्थापना गर्ने निर्णय गरेको हो ।

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सरोकारवालासँग गरेको छलफलमा तत्काल उद्धार गरी सामुदायिक विद्यालयमा राख्न सकिने विषयमा छलफल गरेको छ । कोरोना संक्रमणको जोखिमसँगै मनसुन सुरु भएपछि देशका विभिन्न ठाउँमा बाढी पहिरोले क्षति पुर्‍याएपछि प्राधिकरणले उद्धार र राहतका विषयमा सरोकारवालाहरूसँग गरेको छलफलमा यस्तो बताएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा बाढी पहिरोका घटनाहरु बढिरहेको अवस्थामा तत्काल उद्धार, राहत र पुनर्स्थापनाका विषयमा प्राधिकरणले सरोकारवालहरूसँग छलफल भएको प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बताए । प्राकृतिक विपदबाट पीडितहरूलाई तत्काल उद्धार गरी विद्यालय भवन वा सार्वजनिक भवनहरूमा पुनर्स्थापना गर्ने विषयमा छलफल भएको उनले बताए ।

छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली विपक्षी दलका नेता शेरबहादुर देउवा लगायत विभिन्न मन्त्रालयका मन्त्रीहरू र सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो । गृहमन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रको तथ्याङ्कअनुसार शुक्रबार बाढी र पहिरोबाट ८ जिल्ला प्रभावित भएका छन् । बाढी र पहिरोमा परि २३ जनाको मृत्यु भएको छ भने ३६ जना बेपत्ता भएका छन् । घटनामा २६ जना घाइते भएका छन् ।