कोरोना भाइरसलाई पूर्ण रुपमा निर्मूल पार्न सकिँदैन : डब्लुएचओ
काठमाडाैँ, विश्व स्वाथ्य संगठन (डब्लुएचओ) कोरोना भाइरसलाई पूर्ण रुपमा नष्ट गर्न सकिने सम्भावना अति कम रहेको बताएको छ। डब्लुएचओका आपतकालीन कार्यक्रम प्रमुख डा माइक रायनले शुक्रबार कोरोना भाइरस पूर्ण रुपमा नष्ट गर्न वा त्यसबाट पूर्णरुपले मुक्ति पाइन्छ जस्तो नलागेको बताएका हुन् ।
जेनेभामा भएको अनलाइन पत्रकार सम्मेलनमा उनले भने, ‘अहिले जस्तो अवस्था देखिएको छ, त्यसलाई हेर्दा यो लाग्दैन कि यो भाइरसलाई पूर्णरुपमा निर्मूल गर्न सकिन्छ ।’
उनले अघि भनेका छन्, ‘जहाँ क्लस्टरका रुपमा संक्रमण फैलिएको छ, त्यहाँ संक्रमण रोक्न सकिन्छ, महामारीको दोस्रो लहरबाट बच्न सकिन्छ । तर यो भाइरसलाई पूर्ण रुपमा निर्मूल गर्न भने सकिँदैन ।’
विश्व स्वास्थ्य संगठनका अनुसार शुक्रबार विश्वभर अहिलेसम्मकै धेरै दुई लाख २८ हजार १०२ जनामा संक्रमण पुष्टि भयो । डब्लुएचओका अनुसार शुक्रबार अमेरिका ९उत्तर तथा दक्षिण० मा एक लाख ३८ हजार, युरोपमा २० हजार, पूर्वी भूमध्यसागरमा १६ हजार, दक्षिण पूर्वी एसियामा ३२ हजार तथा अफ्रिकामा १७ हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएको हो ।
विश्वभर कोरोना भाइरसबाट संक्रमितको संख्या एक करोड २४ लाख ६५ हजार भन्दा धेरै पुगेको छ । त्यसमध्ये पाँच लाख ५९ हजार भन्दा बढीको ज्यान गएको छ । सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमितको संख्या ३१ लाख ८४ हजार भन्दा बढी पुगेको छ । त्यहाँ अहिलेसम्म एक लाख ३४ हजार भन्दा धेरैको ज्यान गएको छ । यस्तै ब्राजिलमा ज्यान गुमाउनेको संख्या ७० हजार भन्दा बढी भएको छ ।
अमेरिकाको नेशनल इन्स्टिच्यूड अफ एलर्जी एण्ड इन्फेक्सियस डिजिजका प्रमुख डा। एन्थोनी फाउचीले लकडाउन खुकुलो बनाउन हतार गरिँदा संक्रमण फैलिएको बताएका छन् ।