दाङमा आधा भन्दा धेरै कोरोना संक्रमित निको, रित्तियो बंगलाचुली क्वारेन्टाइन

 दाङ, दाङमा कोरोना संक्रमण देखिएका मध्ये आधा भन्दा धेरै जना निको भएका छन् । नेपालमा नै कोरोना संक्रमित निको हुनेकाे संख्या बढिरहेको समयमा दाङमा पनि संक्रमण हुने भन्दा निको हुनेको संख्या बढ्न थालेकाे हाे ।

 

अहिलेसम्म जिल्लामा ६ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ, भने ३ सय ९८ जना निको भएर घर फर्किएकाे जिल्ला स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दले जानकारी दिए । त्यस्तै हिजो बिहीबार मात्र बेलझुण्डी आइसोलेसन अस्पतालबाट २३ जना निको भएर घर फर्किएकाे चन्दले बताए । दाङमा १६ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको थियो ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत र अन्य स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना देखिएको थियो । ३ जना सेनामा पनि कोरोना देखिएको छ । यी मध्ये कति जना निको भए भन्ने एकिन जानकारी प्राप्त हुन सकेकाे छैन । क्वारेन्टाइनमा बस्नेको संख्या घट्दै सुरुका दिनमा सबै भन्दा धेरै कोरोना संक्रमणको जोखिम रहेको दाङको बंगलाचुली गाउँपालिकामा अहिले सबै क्वारेन्टाइन खाली भएको छ । त्यस्तै जोखिम रहेको घोराही उपमहानगरपालिकाको क्वारेन्टाइन बस्नेको संख्या पनि निकै न्युन भइसकेको छ ।

घोराहीमा रहेका विभिन्न क्वारेन्टाइनमा ६२ जना मात्र रहेका छन् ।जिल्ला स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन चन्दले दिएको जानकारी अनुसार सबैभन्दा धेरै तुलसीपुर उपमहानगरपालिकाका क्वारेन्टाइनमा रहेका छन् । यस पालिकामा २ सय २२ जना क्वारेन्टाइनमा छन् । त्यस्तै बबई गाउँपालिकामा २७ जना, शान्तिनगर गाउँपालिकामा ३१ जना, दंगीशरण गाउँपालिकामा १३ जना छन् ।

यस्तै देखुरी क्षेत्रमा रहेका ४ पालिका मध्ये सबैभन्दा धेरै गढवा गाउँपालिकामा ७९ जना रहेका छन् । त्यसपछि राप्ती गाउँपालिकामा ४० जना, राजपुर गाउँपालिकामा २६ जना र लमही नगरपालिकामा २४ जना रहेको चन्दले जानकारी दिए । १ सय ६६ जना आइसोलेसनमा दाङको विभिन्न आइसोलेसनमा १ सय ६६ जनाको उपचार भइरहेको छ ।

सबैभन्दा धेरै देउखुरीमा रहेको देउखुरी कोरोना विशेष आइसोलेसन सेन्टरमा ६३ जना छन् । त्यसपछि बेलझुण्डी आइसोलेसन सेन्टरमा ५२ जना, घोराहीको अमराईमा रहेको आइसोलेसन सेन्टरमा २७ जना, पद्मोदय क्याम्पसमा रहेको आइसोलेसनमा १४ जना र शान्तिनगर गाउँपालिकाले स्थापना गरेको आइसोलेसन सेन्टरमा १० जना रहेको फोकल पर्सन चन्दले जानकारी दिए ।

बेलझुण्डी आइसोलेसन सेन्टरमा १ सय ९४ जनाको उपचार प्रदेश सरकारले स्थापना गरेको तुलसीपुर उपमहानरपालिका स्थित बेलझुण्डी आइसोलसन अस्पतालमा अहिलेसम्म १ सय ९४ जनाको उपचार भएको छ । जसमध्य १ सय ६९ जना दाङ जिल्लाका छन् भने २५ जना जिल्ला बाहिरका रहेको अस्पतालबाट दोर्ण ओलीले जनाकारी दिए । १ सय ९४ जना मध्ये अन्य डिस्चार्ज भएका छन् भने ५२ जनाको अहिले पनि उपचार भइरहेको ओलीले जानकारी दिए ।