नेकपा स्थायी कमिटी बैठक एक साताका लागि स्थगित

काठमाडौं, पटक पटक स्थगित हुँदै आएको नेकपाको स्थायी कमिटी बैठक पुनः ७ दिनलाई स्थगित गरिएको छ।

आज बिहान ११ बजेका लागि बोलाइएको बैठक सात दिनका लागि स्थगित भएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन्। बाढी, पहिरो लगायतका विपत्ति साथै सिन्धुपाल्चोक लगायत केही जिल्लाहरुमा जनधनको ठूलो क्षति भईसकेको स्थितिमा सम्पूर्ण पार्टी पंक्तीलाई उद्दार एवं राहातमा लाग्न र आसन्न संभावित क्षतिलाई सकेसम्म रोक्ने कार्यमा लाग्न पार्टीका तर्फबाट निर्देशन दिंदै स्थायी कमिटीको बैठक ७ दिन स्थगित गरिएको प्रवक्ता श्रेष्ठले बताएका छन्।

यसअघि असार २२ गते डाकिएको बैठक असार २४ गतेलाई सारिएको थियो। त्यसपछि पुनः असार २६ गतेका लागि सारियो। २६ गते पनि बैठक नबसी साउन २ गतेका लागि बैठक सारिएको हो।

१० असारदेखि जारी नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री र पार्टी अध्यक्षबाट केपी शर्मा ओलीको राजीनामा माग हुँदै आएको छ ।  विवाद मिलाउन अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल पटकपटक वार्तामा बसे पनि कुनै निष्कर्ष आइसकेको छैन ।