असार २८ पछि उद्धारका लागि उडान बन्द हुने

काठमाडौं, विदेशमा अलपत्र परेका नेपालीको उद्धारका लागि हुँदै आएको चार्टर्ड उडान यही असार २८ गतेदेखि बन्द हुने भएको छ ।

विभिन्न मुलुकमा अलपत्र परेका नेपालीलाई उद्धार उडानमार्फत जेठ ३२ गतेदेखि थालिएको स्वदेश फर्काउने अभियान असार २८ पछि स्थगन हुन लागेको हो । १२ जुलाई पछि केही समय नेपालीको उद्दार रोकिने नेपाल वायुसेवा निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिएकी छिन् ।

विदेशमा अलपत्र परेका नेपालीलाई उद्धार गर्न संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले पहिलो चरणमा जेठ २८ देखि उद्धार उडानलाई अनुमति दिएको थियो ।

नेपाल वायुसेवा निगम र हिमालय एयरलायन्सलाई उद्धार उडानका लागि अनुमति दिएको छ भने विदेशी वायुसेवातर्फ कतार एयरवेज, टर्किस एयरलायन्स, फ्लाई दुबई, जजिरा एयरवेज लगायतलाई नेपाली नागरिकको उद्धार गर्न अनुमति दिएको छ । एकतर्फी मात्रै यात्रु रहने यी चार्टर उडानमा सरकारले भाडाको सीमा तोकेको छ ।

बुधबारसम्म भएका १४३ वटा उद्धार उडानबाट २२ हजार ३६९ नेपाली काठमाडौं आइपुगेका छन् । जसमा कुवेतबाट ४७ सय, यूएईबाट ४१ सय, साउदी अरेबियाबाट ३२ सय, कतारबाट २७ सय, मेलेसियाबाट २४ सय, बहराइनबाट ५ सय गरी २२ वटा मुलुकबाट नेपाली ल्याइएको थियो ।