अछाममा संक्रमित महिलाले जन्माइन् स्वस्थ बच्चा
अछाम, जिल्ला अस्पताल अछामको आइसोलेसनमा कोरोनाको उपचारमा रहेकी महिलाले बच्चा जन्माएकी छन्। जिल्लाको मेल्लेख गाउँपालिका-४ कि २५ वर्षीय कोरोना सङ्क्रमित महिलाले बिहीबार राति छोरा जन्माएकी हुन्।
बच्चाको जन्म नर्मल ढंगबाटै भएको र महिला र शिशुको स्वास्थ्य सामान्य रहेको जिल्ला अस्पताल अछामकी नर्सिङ निरिक्षक गंगा बुढामगरले जानकारी दिइन्। उनका अनुसार आमा र बच्चा दुवैको उच्च निगरानी गरिएको छ। उनका अनुसार बच्चालाई दूध चुसाउने समयबाहेक अलग्गै राखिएको छ।
दूध चुसाउने बेलामा सुत्केरीले स्तन धुने, मास्क र पञ्जा लगाउने गरिएको छ। श्रीमानसँगै भारतबाट फर्किएकी उनलाई कोरोना देखिएपछि जिल्ला अस्पतालको आइसोलेसनमा ल्याइएको थियो। उनका श्रीमानमा समेत कोरोना संक्रमण रहेको छ। उनको पनि जिल्ला अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ।
नवजात शिशुको स्वाब जाँचिने
नवजात शिशुमा कोरोना सङ्क्रमण भए/नभएकोबारे जाँच्न केही दिनमा थ्रोट स्वाब परीक्षणका लागि पठाउने तयारी भएको अस्पतालको भनाइ छ। गर्भवती सङ्क्रमित महिला र उनका श्रीमान असार ४ गतेदेखि आइसोलेसन कक्षमा राखेर उपचार भइरहेको थियो।
केही हप्ताअघि आकस्मिक बाहेकका सेवा बन्द गरेर कोरोना सङ्क्रमित व्यक्तिको उपचारका लागि अछाम अस्पताल क्षेत्र सिल गरिएको छ। अछाममा बिहीबारसम्म ६ सय ७ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेका छन् भने १ सय ७८ जना डिस्चार्ज भएर घर फर्किएका छन्।