सिन्धुपाल्चोक बाढी : बेपत्ता हुने २० जनाको पहिचान
काठमाडौ, सिन्धुपाल्चोकको बाह्रबिसेमा भोटेकोसी बगाएर बेपत्ता हुनेको पहिचान खुलेको छ। बाह्रबिसे नगरपालिकाका उपमेयर सुशीला पाख्रिनका अनुसार बाह्रबिसे नगरपालिकाका १६ जना बेपत्ता भएका छन्। यस्तै भोटेकोसी नगरपालिकाका ४ जना बेपत्ता भएका छन्।
बाह्रबिसेमा बेपत्ता हुनेमा भीमबहादुर वाइबा, चिनीमाया वाइबा, लीलामाया वाइबा, पासाङडोल्मा वाइबा, निमाडोल्मा वाइबा, लक्ष्मण वाइबा, सुनमाया वाइबा र जनकबहादुर वाइबा छन्।
यस्तै सविना तामाङ, हिमेश शर्मा, आकाश तामाङ, आकाश केसी, तोकबहादुर तामाङ, युक्तकुमार तामाङ बेपत्ता भएको उमपेयर पाख्रिनले बताइन्। सुवेश तामाङ र सलिना तामाङ पनि बेपत्ता छन्। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार बेपत्ता शर्मा निर्माणाधीन मध्यभोटेकोसी आयोजनाका सेक्रेटरी र केसी जाइकाका इन्जिनियर हुन्।
भोटेकोसी गाउँपालिकाका निमादोर्जे तामाङ, मञ्जु तामाङ, पासाङ नोर्बु तामाङ र सहिल तामाङ बेपत्ता रहेकाे डीएसपी माधवप्रसाद काफ्लेले बताए।
निकेश बस्नेत र उनकी ३ वर्षीया छोरी नियोन बस्नेतको शव फेला परिसकेको छ। घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट उद्धार भइरहेको छ।
भोटेकोसी नदीको बाढीले अरनिको राजमार्गका विभिन्न ठाउँमा कटान गरेपछि आवागमन अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
बुधबार राति १० बजेदेखि अविरल पानी परेको थियो भने १२ बजेपछि भोटेकोसी नदीको दुवैतर्फ पहिरो खसेको स्थानीय बासिन्दाले बताएका छन्।
बाह्रबीसेमा उद्धारका लागि हेलिकप्टर
सिन्धुपाल्चोकको बाह्रबीसेमा आएको बाढीबाट प्रभावितको उद्धारका लागि हेलिकप्टरसहितको टोली घटनास्थल पुगेको छ ।
मौसम प्रतिकूलताले काभ्रेपलाञ्चोकको मङ्गलटारमा अवतरण भएको कैलाश एयरको हेलिकप्टर सिन्धुपाल्चोकको बाह्रबीसे जम्बु पुगेको हो । वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले हेलिकप्टर घटनास्थलमा पुगिसकेको र अब घाइतेको उद्धार थालिने जानकारी दिए ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य माधव सापकोटासहितको टोली हेलिकप्टर लिएर बाह्रबीसे पुगेको हो । उक्त हेलिकप्टरबाट दुई गम्भीर घाइतेलाई काठमाडौं लगिने जानकारी उनले दिए । सभामुख अग्निप्रसाद सापकोटासहित गएको हेलिकप्टर भने खराब मौसमका कारण धुलिखेलको आकाशबाट फर्किएको थियो ।