नेपालमा भारतीय न्युज च्यानलहरु प्रसारणमा रोक
काठमाडौं, नेपालमा भारतीय न्यूज च्यानल रोक लगाउने निर्णय गरिएको छ । विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ) हरुले स्वतःफुर्त भारतीय न्यूज च्यानलहरूको प्रसारण नेपालमा बन्द गरेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूत होउ यान्छीलाई जोडेर भारतीय च्यानल जी न्यूजले अनर्गल र अतिरञ्जित प्रसारण गरेपछि यस्तो निर्णय गरिएको हो ।
मेगा म्याक्स टिभीका उपाध्यक्ष ध्रुव शर्माका अनुसार भारतीय सञ्चारमाध्यमले नेपालको बारेमा अफबाह फैलाएका कारण बन्द गर्ने निर्णय भएको शर्माले बताए । उनीहरूले पछिल्लो समय प्रधानमन्त्री र चिनिया राजदूतको नाम जोडेर आपत्तिजनक विषयहरु प्रसारण गरेपछि ती च्यानलहरु नेपालमा बन्द गराइएको हो ।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीविरुद्ध भारतीय सञ्चारमाध्यम जी न्यूजले असत्य, भ्रामक र कपोलकल्पित सामग्री प्रसारण गरेकोमा नेपाल पत्रकार महासङ्घले त्यसको भत्र्सना गरेको छ ।
‘भारतीय सञ्चारमाध्यमबाट अत्यन्त तल्लोस्तरबाट गरिएको प्रचार निन्दनीय र आपत्तिजनक छ, भारतीय सञ्चारमाध्यमले गरेको यो प्रचार पीत पत्रकारिताको नमूना हुनुका साथै प्रेसको विश्वव्यापी मान्यताविरुद्ध रहेको महासङ्घको ठहर छ, महासङ्घ भारतीय सञ्चारमाध्यमको अनर्गल र बकवासपूर्ण प्रचारप्रसारको कडा शब्दमा भत्र्सना गर्दछ’, महासङ्घद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ ।
लिपुलेक-कालापानी क्षेत्र समेटेर नेपालले नयाँ नक्सा जारी गर्ने भएपछि नेपालविरुद्ध खनिन थालेका भारतीय मिडिया अहिले प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध व्यक्तिगत आक्षेपको स्तरमा उत्रिएका छन्।
पछिल्लो समय भारतीय मिडियाले काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्छीको सक्रियतालाई समेत आपत्तीजनक तरिकाले चित्रण गरिरहेका छन्।नेपालसँग सीमा विवाद भएपछि भारतीय न्युज च्यानलहरुले यस्ता थुप्रै भ्रामक समाचारहरु प्रसारण गर्दै आइरहेका छन्।

