दाङमा थप ५ जनामा कोरोना पुष्टि,संक्रमितको संख्या ६ सय ४ पुग्यो,

दाङ ,बुधबार दाङमा थप ५ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा ५ जनामा कोरोना पुष्टि भएको हो ।

पाटन अस्पताल ललितपुरको प्रयोगशालामा गरिएको परिक्षणमा १ जनामा र भेरी अस्पताल नेपागन्जमा गरिएको परिक्षणमा ४ जनामा कोरोना पुष्टि भएको डाक्टर गौतमले जानकारी दिए । यो सँगै दाङमा संक्रमितको संख्या ६ सय ४ पुगुेको छ ।

संक्रमण पुष्टि हुनेमा लमही नगरपालिका वडा नम्बर ५ का २४ र ३३ वर्षका २ पुरुष, लमही–७ का २५ वर्षिय एक पुरुष र तुलसीपुर–२ का २८ वर्षिय एक पुरुष रहेका छन् । यी सबैको नेपालगन्जको भेरी अस्पतालमा कोरोना पुष्टि भएको हो । अन्य एक जना पाटन अस्पतालमा पुष्टि भएकाको भने स्थायी ठेगाना खुलाइएको छैन ।

यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले कुनै पनि अस्पतालले अनुमति विना कोरोना परिक्षण गरेको शुल्क लिएमा कार्वाही गरिने बताएका छन् । मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा उनले केही स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्थानीय तहसँग पिसीआर परिक्षणको शुल्क माग गरेको भन्दै यदि शुल्क लिएको पाइएमा कार्वाही गरिने चेतावनी दिए ।
उनले सबैको कोरोना भाइरसको परिक्षण सरकारको खर्चमा नि:शुल्क गरेको पनि जानकारी दिए ।

‘सरकारको निर्देशिका अनुसारका सबै कोभिड-१९ सम्बन्धितका परिक्षणको व्यवस्था सरकारको खर्चमा भइरहेको छ’, उनले भने ‘यदि यस्तो अवस्थामा पनि कुनै पनि निकायले शुल्क लिएको पाइएमा विद्यमान नियम अनुसार कार्वाही हुनेछ ।’दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले दाङका १० वटा स्थानीय पालिकालाई कोरोना भाइरसको पिसीआर परिक्षण गरेको प्रति स्वाबको ५५ सयका दरले कराेडौँ रकम मागेपछि मन्त्रालयले यस्तो निर्देशन गरेको हो ।

प्रतिष्ठानले परिक्षणको शुल्क माग गरेपछि अहिले स्थानीय तहले संकलन गरिएको स्वाब पनि बाहिरी जिल्ला पठाएका छन् । दुई वटा पिसीआर मेसिन जडान भएको प्रतिष्ठानमा अहिले कोरोना परिक्षण हुन सकेको छैन । प्रतिष्ठानको यस्तो कार्यप्रति दाङका नागरिकहरुले आलोचना गरेका छन् । राजनीतिक दलले पनि विज्ञप्तिमा निकाले प्रतिष्ठानले शुल्क माग्नु जायज नभएको बताएका छन् । प्रतिष्ठानले भने आर्थिक समस्या देखाउँदै शुल्क माग गरेको हो ।