हावाबाट कोरोना सर्ने प्रमाण भेटियो : डब्ल्यूएचओ

काठमाडौं, विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले हावाबाट कोरोना भाइरस फैलिएको पुष्टि गरेको छ । वैज्ञानिकहरुले हावाबाट संक्रमण सर्ने दाबी गरेपछि डब्ल्यूएचओले गरेको अध्ययनमा केहि प्रमाण भेटिएको जनाएको छ ।

यसअघि विश्वका दुई सयभन्दा धेरै वैज्ञानिकहरुले डब्ल्यूएचओलाई खुला पत्र लेखेर कोरोना भाइरस हावाबाट पनि फैलिन सक्ने भन्दै हालको दिशानिर्देश संशोधन गर्न सुझाव दिएका थिए ।

क्लिनिकल इन्फेक्सियस डिजिज जर्नलमा गत सोमबार प्रकाशित भएको एक खुला पत्रमा ३२ देशका २ सय ३९ जना वैज्ञानिकहरुले कोरोना भाइरस हावामा अडिन सक्ने र कुनै व्यक्तिले स्वास फेर्दा ऊ संक्रमित हुनसक्ने प्रमाण प्रस्तुत गरेका थिए । डब्ल्यूएचओमा कोरोना भाइरस संक्रमणको महामारीसँग सम्बन्धित प्राविधिक प्रमुख मारिया वान केरखोवले कोरोना भाइरस हावाबाट फैलिएको आशंकाबारे आफूहरुले छलफल गरिरहेको जानकारी दिए ।

यसैगरी डब्ल्यूएचओका बेनेदेत्ता आल्लेग्रान्जीले भने, ‘खासगरी भिडभाड भएको सार्वजनिक स्थानमा, हावा आवत–जावत नगर्ने बन्द स्थानमा हावाबाट भाइरस फैलिने आशंकालाई इन्कार गर्न सकिँदैन । हामी यी प्रमाणहरुलाई एकत्रित गरेर अनुसन्धान गर्ने काम जारी राख्छौं ।’

हाल विश्व स्वास्थ्य संगठनले सार्स–कोभिड–२ (कोरोना) भाइरस मुख्यरुपमा संक्रमित व्यक्तिको मुखबाट निस्किने थुकका साना छिटाबाट सर्ने बताउँदै आएको छ । त्यसैले डब्ल्यूएचओले एक–अर्काबीच कम्तिमा ३.३ फुटको दूरीमा रहन र मास्क लगाउन सुझाव दिँदै आएको छ ।

यदि हावाको माध्यमबाट कोरोना संक्रमण फैलिने कुरा औपचारिक रुपमा पुष्टि भएमा व्यक्तिगत दूरीको नियम परिवर्तन गर्नुपर्ने हुन्छ । वान केरखोवले यसबारे डब्ल्यूएचओले छिट्टै एक विज्ञिप्त जारी गर्ने जानकारी दिए । बीबीसी