कर्णालीमा थप २० जना कोरोना संक्रमित थपिए,१६ जना डिस्चार्ज,

   सुर्खेत, कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा २० जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् ।

सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा भएको परीक्षणबाट थप २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।  सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार सुर्खेतका १३ जना, दैलेखका पाँचजना र मुगुका दुईजना रहेका छन् ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडानम्बर ४, ६, ७, ९, १०, १२ का चारजना महिलासहित ११ जना र बराहताल गाउँपालिका र लेकबेसी नगरपालिकाका एकरएकजना पुरुष रहेका छन् । दैलेखको नौमुले गाउँपालिका वडानम्बर १ र ६ का तीनजना पुरुष र दुल्लु नगरपालिका वडानम्बर ४ र १२ का दुईजना पुरुष रहेका छन् ।

दुईजना युवक भने मुगुको खत्याड गाउँपालिका-७ का हुन् । यससँग कर्णालीमा कोरोना संक्रमितको संख्या १५५० पुगेको छ । यस्तै, पछिल्लो २४ घण्टामा कर्णालीमा १६ जना डिस्चार्ज भएका छन् । यससँगै कर्णालीमा डिस्चार्ज हुनेको संख्या १२९१ पुगेको छ । २५३ जना आइसोलेनमा छन् भने ६ जनाको मृत्यु भएको छ ।