जसपा दाङले भन्यो : कोरोना परिक्षणका लागि शुल्क माग्नु निन्दनीय कार्य
भालुवाङ, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङले कोरोना परिक्षणका लागि शुल्क दिए मात्र परिक्षण गर्ने बताएकाेप्रति जनता समाजवादी पार्टी नेपाल जिल्ला समन्वय समिती दाङले आफ्नो गम्भीर ध्यानाकर्षण जनाएको छ ।
सरकारले कोरोना भाइरस परिक्षणको नि:शुल्क परिक्षण हुने भनिसकेको अवस्थामा प्रतिष्ठानले रकम लिएर मात्र परिक्षण गर्ने भन्दै जिल्लामा संकलन गरिएकाे स्वाब फिर्ता गर्ने जस्ता कार्य गरेकाे भन्दै जनता समाजवादी पार्टी नेपाल जिल्ला समन्वय समिती दाङले आफ्नो गम्भिर ध्यानाकर्षण जनाएको हाे ।
पार्टीका जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य हाेमप्रसाद शर्माले साेमबार एक प्रेस विज्ञप्ति जारी गरी जिल्लामा प्रतिष्ठान र स्थानीय सरकारहरुको बीचमा समन्वय नहुँदा जनता मारमा परेको उल्लेख गरेका छ ।
सरकारले यस्ताे महामारीकाे समयमा अन्तराष्ट्रिय बिभिन्न देशहरु र नेपालमा समेत राेजगारी गुमाएका बिपन्न समुदायहरुकाे स्वास्थ्यमा ध्यान दिंदै काेराेना परिक्षण निशुल्क गर्दै आएकाे साथै प्रदेश नं. ५ काे सरकारले समेत यस सम्बन्धी हुने खर्च ब्यवस्थापन गर्दै आएकाेमा हालै राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान दाङले परिक्षणका लागि भन्दै ५ हजार ५ सय रुपैयाँ रेट नै टाेकेर खर्च लाग्ने भन्दै संकलन भएका स्वाबकाे समेत परिक्षण राेक्ने जस्ता अमानवीय कार्य गरेकाे भन्दै यस कार्यकाे हामी खेद प्रकट गर्दछाैं विज्ञप्तिमा भनिएकाे छ ।
जारी विज्ञप्तिमा अगाडि भनिएकाे छ, एकातर्फ सरकारले लकडाउन गरेकाे छ । सम्पूर्ण ब्यापार ब्यवसाय बन्द छन । मजदुरी गरेर खाने विपन्न समुदायकाे राेजगारी खाेसिएकाेछ । जनतालाइ राेग र भाेकले सताइ रहेकाे अवस्थामा केन्द्र सरकारले क्वारेन्टाईन ब्यवस्थापन, राहत एवं परिक्षण र उपचारमा खर्च भन्दै राज्यकाेषकाे ठुलाे रकम खर्च भएकाे कुरा सार्वजनिक भईरहेकाे अवस्थामा परिक्षणमा राेक लगाउनु अत्यन्तै निन्दनिय र जनताकाे स्वास्थ्य माथीकाे गम्भीर खेलवाड हाे विज्ञप्तिमा भनिएकाे छ ।सरकार र उसका अंगहरु जन उत्तरदायी नदेखिनु र नहुनु राज्यकाे अत्यान्तै भद्दा रुप हाे ।
अर्काेतर्फ आज राज्यकाेषकाे ठुलाे रकम क्वारेन्टाइन र आईसाेलेसन व्यवस्थापन एवं उपचारमा खर्च देखाइ रहँदा क्वारेन्टाईन र त्यसकाे व्यवस्थापनकाे अत्यान्तै दुर्दसा देख्दा लाग्छ जनता भेडा बाख्रा हुन, यिनहरूलाई जे गरेपनि हुन्छ । जन निर्वाचित सरकार छ । क्वारेन्टाइनमा बस्नेहरुकाे स्वास्थ्य, खाना, मनाेरन्जनकाे कुनै रेखदेख छैन, ३० दिन देखि डेढ महिना सम्म रिपाेर्ट आउंदैन, स्वास्थ्यकर्मीहरु जांदैनन् , क्वारेन्टाईनहरुकाे अवस्था समान्य मापदण्ड भित्र पनि छैन, सुत्नका लागि झुल समेत छैन, क्वारेन्टाईनमा बसेकाहरु रातीमा भागेर घर गई सुतेर बिहानै क्वारेन्टाईन मा आउँछन, स्वाव संकलन गर्न बिभिन्न देश र स्थानबाट आएकाहरुलाई एउटै ट्रेक्टरमा राखेर स्वास्थ्यचाैकी लगिन्छ, एउटै काेठामा राखिन्छ, एउटै टवाईलेटमा दिशा पिसाव गराईन्छ, आज आएका र ५ दिन वा १०-१५ -२०दिन पछि आएका व्यक्तिहरुलाई समेत एउटै क्वारेन्टाईनमा साथै एकै ठाउँमा राखिन्छ ।
क्वारेन्टाईनमा बसेकाहरु मध्ये कसैकाे रिपाेर्ट पहिला आउँछ कसैकाे पछि आउँछ, ती मध्ये कुनैलाई पाेजेटिभ आउँदा उनीहरु रिपाेर्ट आउनुभन्दा पहिला १५ दिन संगै बसेका हुन्छन् । पाेजेटिभलाई आईसाेलेसनमा पठाईन्छ नेगेटिभलाई घर पठाईन्छ, घर जानेलाई ठुलाे चिन्ता हुन्छ, किनकी रिपाेर्ट आउनु पूर्व उनीहरु संगै बसेका हुन्छन् । यी यस्ता धेरै कमजाेरीहरु छन् । यस्ताे अवस्थामा उनीहरु जाने गाउँ टाेल सुरक्षित रहन्छ ? यसले गर्दा घर परिवार र गाउँटाेल अत्यन्तै चिन्तीत भईरहेकाे छ । यस्ता अपरिपक्क कार्यहरुप्रति हाम्राे पार्टीकाे गम्भीर ध्यानआकर्षण भएकाे छ, जारी विज्ञप्तिमा भनिएकाे छ ।
साथै विज्ञप्तिमा भनिएकाे छ, स्थानिय सरकार र प्रतिष्ठान बीचकाे अन्तर बिराेधलाई तत्काल हलगरी जनताकाे स्वास्थ्यप्रति जिम्मेवार बन्न अनुराेध गर्दछाैं । यस बिषयमा कुनै समस्या भए केन्द्र र प्रदेश सरकारले गम्भिर भई स्वास्थ्य बिज्ञान प्रतिष्ठान र स्थानीयतह बीचकाे अन्तर बिराेध हल गर्दै स्वास्थ्य सामग्री, उपकरणहरु र बजेटकाे ब्यवस्था गरी परिक्षण लगायतका कार्यहरुमा निरन्तरता दिन यसै प्रेस बिज्ञप्ती मार्फत सम्बन्धि निकाय तथा पक्षहरू संग जाेडदार माग गर्दछाैं जारी विज्ञप्तिमा उल्लेख छ ।