नेकपा विवाद : आजको स्थायी कमिटी बैठकले ओलीलाई राजीनामाको निर्देशन दिन सक्ने

काठमाडौं,  दुई अध्यक्षको शक्ति संघर्ष र टकरावका कारण फुटको संघारमा पुगेको सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक आज (सोमबार) बस्दैछ ।

बैठकले पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीका विषयमा निर्णय गर्न सक्ने वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए। ‘उहाँलाई अधिकांश सदस्यले प्रधानमन्त्री पदबाट राजीनामा गर्न भनेका छन् तर उहाँ त्यो विषयमा छलफलसमेत गर्न नचाहने र नसुध्रिने संकेत देखाएकाले आज बैठकले नै निर्णय गर्न सक्छ,’ उनले भने ।

असार १० गतेबाट सुरु भएको स्थायी कमिटी बैठकमा ओलीको राजीनामा माग चर्किएको छ । अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतमलगायतका नेताहरुले अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिनुपर्ने बताउँदै आएका छन् ।

ओलीले पार्टी र सरकार एकलौटी ढंगबाट चलाएको, नेताहरुलाई जिम्मेवारीविहिन बनाएको, पार्टीको बद्नाम गरेको भन्दै अधिकांश स्थायी कमिटी सदस्यले ओलीको राजीनामा माग्दै आएका छन् । उनलाई राजीनामा गराउन प्रचण्ड, नेपाल, खनाललागयतका नेताहरु छुट्टै बैठक बसेर रणनीति तयार पार्दै आएका छन् ।

ओली भने दुबै पदबाट राजीनामा नदिने अडानमा छन्। उनी अन्तिमसम्म पार्टीमा लड्ने, नभए पार्टी फुटाएर भए पनि विपक्षी कांग्रेससँग सहकार्य गरेर सरकार चलाउने मनस्थितिमा छन् । जसअनुरुप उनले कांग्रेस सभापति देउवालाई भेटेर सत्ता सहकार्यका लागि प्रस्ताव गरेको खुलासा भएको छ ।

ओलीको यो कदमबाट थप आक्रामक बनेका प्रचण्ड, नेपाल, खनाल, गौतमलगायतका नेताहरु आजको स्थायी कमिटी बैठकमार्फत उनलाई प्रधानमन्त्री पदबाट राजीनामा गर्नका लागि निर्देशन दिने तयारीमा छन् । बहुमत सदस्यले गरेको निर्णय नमाने ओलीमाथि कारबाही गर्ने उनीहरुको रणनीति छ ।