काठमाडौं उपत्यकामा आजै ५४ जनामा कोरोना संक्रमण

काठमाडौं, काठमाडौं उपत्यकाका आज (सोमबार) एकै दिन हालसम्मकै धेरै ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २४, ललितपुरमा २० र भक्तपुरमा १० जना संक्रमित भेटिएका हुन् । पछिल्लो समय काठमाडौंमा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । संक्रमित कहाँका हुन् भन्ने मन्त्रालयले जानकारी गराएको छैन ।

आज संक्रमण पुष्टि भएका १८० जनामध्ये काठमाडौं उपत्यकाका ५४ जना रहेका छन् । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १५ हजार ९६४ पुगेको छ । आइतबार देशभर २९२ जनामा कोरोना संक्रमण देखिएको थियो ।

मन्त्रालयका अनुसार अहिलेसम्म क्वारेन्टाइनमा २९ हजार २१५ रहेका छन् भने आइसोलेसनमा ९ हजार ११८ जनाको उपचार भइराखेको छ । पछिल्लो २४ घण्टामा २५ वटा प्रयोगशालामा ४ हजार ७२१ नमुनाको पीसीआर परीक्षण गरिएको छ ।पछिल्लो २४ घण्टामा २६४ थप कोरोना जितेर डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार निको हुनेको संख्या ६ हजार ८११ जना पुगेको छ ।