बालुवाटारमा जारी ओली-प्रचण्ड वार्ता सकियो
काठमाडाैँ, फुटको संघारमा पुगेको सत्तासिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षको निर्णायक भनिएको वार्ता सकिएको छ । बालुवाटारमा प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आ–आफ्नो पक्षका साक्षी नेतासहित छलफल गरेका हुन् ।
प्रधानमन्त्रीसँगको कुराकानीपछि प्रचण्ड बालुवाटारबाट बाहिरिएका छन्। उक्त छलफलमा शीर्ष नेताका साथमा अन्य नेताहरु पनि सहभागी थिए।
छलफलमा प्रधानमन्त्री ओलीका तर्फबाट सचिवालय सदस्य ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्य शंकर पोखरेल र प्रचण्ड समूहका तर्फबाट नेताहरु वर्षमान पुन र जनार्दन शर्मा सहभागी थिए।
नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डवीच पार्टी एकतालाई बचाउँदै सहमतिका आधारहरु खोज्ने सहमति भएको बताइएकाे छ । सोमबार बिहान स्थायी कमिटीको बैठक बस्नुअघि दुई अध्यक्षवीच पुनः छलफल गर्ने सहमति भएको हाे । नेकपा स्रोतका अनुसार सोमबार विहान पुनः छलफलमा बस्नुअघि ओली र प्रचण्ड दुवै पक्षका नेता बसेर थप गृहकार्य गर्ने सहमति भएको छ ।

