प्यूठानमा टिपर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु

भालुवाङ, प्यूठानमा चुनढुङ्गा बोकेको टिपर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै ज्यान गएको छ । जिल्लाको खप्रेङ खोलावाट दाङको कालाकाटे स्थित शुभश्री अग्नि सिमेन्ट उद्योगका लागि चुनढुङ्गा बोकेर जाँदै गरेको ना ७ ख ८९३८ नम्बरको टिप्पर शनिबार बिहान दुर्घटनामा परेको हो।

दुर्घटनामा सो टिपरका चालक र सहचालक दुबैजनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्किले जानकारी दिए। भालुवाङ-प्यूठान सडकखण्ड अन्तर्गत सरुमारानी गाउपालिका वडा नम्बर ६ मोतिपुरस्थित भीरबाट झण्डै ५ सय मिटर तल माडी नदिमा खसेको हो।

मुत्यु हुनेमा टिपर चालक नौबहिनी ६ पिपलटारीका ३० बर्षीया रोशन थापा र सहचालक अन्दाजी बर्ष २७ का जोगबहादुर पुन रहेको घटनास्थल पुगेका प्रहरी सहायक निरिक्षक थङ लामाले जानकारी दिए ।घटनास्थलमा प्रहरी पुगेर उद्धारको काम गरिरहेको छ। घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।